दिपक बोहरा, तुलसीपुर ७ पुस । दाङ फूलबारी निवासी रमिला चौधरी ज्वरोले च्यापेपछि त्यसको उपचारका लागि उनी तुलसीपुरमा चेकजाँच गराउन आएकी थिइन । सामान्य ज्वरोको औषधि वा चेकजाँच चौधरीले फूलवारी स्थित घर नजिकैको श्वास्थ्य चौकीमा गएर गर्न सक्थिन । तर उनले त्यसो गरिनन् । र उनी निजी अस्पतालमा चेकजाँचका लागि पुगिन ।
सामान्य प्रकृतिको विरामी हुँदा वा घाउ चोट लाग्दा स्थानीय स्तरमै सर्बसाधारण नागरिकलाई श्वास्थ्य सेवा प्रदानगर्ने उदेश्यले सरकारले स्वास्थ्य संस्था स्थापना गरेको हो । तर सामान्य प्रकृतिको विरामीहरु समेत सरकारी स्वास्थ्य संस्थालाई विश्वास गर्दैनन् र उनीहरु निजी अस्पताल नै जान्छन् । यसको पछाडि मनोविज्ञानले काम गरेको छ । यर्थाथमा श्वास्थ्यकर्मी वा चिकित्सक सरकारी अस्पतलामा योग्य हुन्छन् । तर काममा हुने ढिला सुस्ति, वास्ता नगर्ने प्रवृति, विरामीलाई प्रयोग गरिने भाषा सैलिले गर्दा विरामीहरु सरकारी श्वास्थ्य चौकी र अस्पताल जान रुचाउँदैनन् ।
फूलवारीको श्वास्थ्य चौकी एउटा उदाहरण मात्रै हैन , हरेक ठाउँका जनताको मनोविज्ञान आज यस्तै पाईन्छ । आजको व्यवस्त दुनियाको मानिसलाई पैंशा भन्दा समयमै उपचार आवश्यक छ , इज्जत र सम्मान जनक लवज चाहान्छ । अझै भनौं आत्म सम्मान चाहान्छ । जो सरकारी श्वास्थ्य संस्था र अस्पतालहरुमा विरलै पाईन्छ । अहिले अधिकांस सरकारी स्वास्थ्य संस्था प्रतिको आम नागरिकको आकर्षण घट्दै जानुको कारण यहि मान्ने गरिएको छ । कतिपय सरकारी स्वास्थ्य संस्थाहरु कार्यलय सहयोगीको भरमा सञ्चालन हुनुले गर्दापनि सर्वसाधरणको सरकारी श्वास्थ्य संस्था प्रतिको विश्वास घट्दै गएको तर्कगर्नेहरुको कमि छैन ।
अधिकाँस सरकारी स्वास्थ्य संस्थामा जाँदा सिटोमोल समेत पाईदैन र समयमा श्वास्थ्र्यकर्मी पनि उपस्थित हुँदैनन् भन्ने धारणा सर्वसाधारणको छ । कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी संचालन भईरहेका हुन्छन्, त्यसमा गएर के गर्ने ? आमनागरिकहरुले गर्ने गरेका गुनासोहरु यस्तै खालका हुन्छन् । सरकारले स्वास्थ्य चौकीमा उपचार र निःशुल्क औषधिको सेवा दिएको छ । यो जानकारी अधिकाँसलाई छ । सरकारी श्वास्थ्य चौकी प्रतिको अविश्वास यति चुलिएको छ कि सर्वसारधारण स्थानीय स्तर मै उपलब्ध हुने निःशुल्क उपचार सेवा भन्दापनि निकै महंगो सेवाका लागि निजी श्वास्थ्य संस्थाहरुमा सेवालिन जाने गर्छन । कतिपयका शब्दमा घुस नदिदा सम्म काम बन्दैन भन्ने मानसिकता र खर्च नगरी प्राप्त औषधिले काम गर्दैन भन्ने मनोविज्ञान कै कारण भएको बताउँछन् ।
अहिले दाङका सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत डाक्टरहरु समयमा अस्पताल नआउने , निजी अस्पतालहरुमा धाउने, कार्यालय समयसम्म फेला नपर्ने जस्ता गुनासोहरु व्यापक छ । सरकारी स्वास्थ्य संस्थााहरुमा उपचारमा समेत लापरबाही हुने गरेको गुनासो सर्वसाधारणको पाईन्छ । जसले गर्दा पनि स्वास्थ्य संस्थाहरु प्रति आमनागरिकको आर्कषण घट्दै गईरहेको मान्न सकिन्छ । ग्रामिण क्षेत्रमा सरकारले निःशुल्क वितरण गर्ने औषधिले काम गर्दैन् भन्ने भ्रम एउटा ठूलो समस्याका रुपमा लिइएको छ ।
स्वास्य केन्द्रमार्फत सरकारले ७० थरिका औषधि निःशुल्क वितरण गरेपनि त्यसको प्रभावकारिता माथि आशंका र ठूलो प्रश्न चिह्न खडा गरिनु आफैमा विरोधाभाषपूर्ण छ ।
स्वास्थ्य सुधारमा लाग्छु : जनस्वास्थ्य प्रमुख
यसैविच जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलले सरकारले दिने औषधिको विषयमा जनमानसमा ठूलो भ्रम रहेको स्वीकार गरेका छन् । उनले भने ‘हामीले दिने औषधि उही हो, चाहे स्वास्थ्य केन्द्रले दिने होस वा क्लिनिकबाट खरिद गरिएको होस तर मान्छेहरु पैंशा तिरेर किनको औषधिमा मात्रै विश्वासगर्छन ।’ यो मनो विज्ञान पालेर बसेका मानिसहरुलाई सम्झाउने कोसिस गरिएपनि यो सोच परिवर्तन गर्न भने चुनौति छ ।
स्वास्थ्य संस्थाहरुमा कार्यरत एकाध डाक्टरहरुको लापरबाहीले गर्दा यस्तो समस्या निम्तिएको उनले बताए । उनले भने‘ स्वास्थ्य संस्थामा कार्यरत डाक्टरहरु समयमा नआउँने, उपचारमा लापरबाही गर्ने गरेकाले पनि सरकारी स्वास्थ्य संस्थाहरु प्रति आकर्षण घट्दै गएको हो ।’ अब सरकारी स्वास्थ्य संस्थाहरुले आम नागरिकको बिश्वास जित्नका लागि सेवा प्रति जिम्मेवार बन्नुपर्ने उनको धारणा छ । त्यस्का लागि आफु निरन्तर सुधारको अभियानमा लाग्ने उनले विश्वास दिलाउन खोजेका थिए । उनले आफुहाल अहिले प्रत्येक स्वास्थ्य संस्थाहरुको अनुगमणमा रहेकोले त्यो सुधारगरेरै देखाउने बताए ।
जहाँ लापरबााही भईरहेको छ गुनासो आउँछ, त्यहाँ बिशेष निगरानी गरेर, कानुन बमोजिम कारबााहीको प्रक्रिया पनि अघि बढाउने उनले विश्वास दिलाएका छन् । अहिले दाङका सरकारी स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका डाक्टरहरु भएपनि सेवा प्रभाबकारी हुन नसकेको भने उनले स्वीकार गरे । त्यसको कारण के हो भन्ने अध्यन र अनुसन्धान गर्न तर्फ कोहि लागेको भने छैन ।
सरकारी स्वास्थ्य संस्थामा कार्यरत डांक्टरले १० देखी ५ बजे सम्म सेवा प्रदान गर्नुपर्ने भएपनि त्यो विचमा धेरै चिकित्सक निजीमा पुगेर आर्जन गर्ने गरेकोले पनि सरकारी श्वास्थ्य संस्था प्रतिको विश्वास खस्किएको उनले बताए । अहिले दाङका लागि ६ जना हेल्थ असिस्टेन्ट र ५ जना अनमी मात्रै आबश्यक रहेको उनले बताए । त्यसका लागि स्वास्थ्य बिभागमा माग गरिसकेको उनले जानकारी दिएका थिए । अहिले दाङमा ३७ स्वास्थ्य चौकी र तीन उपस्वास्थ्य चौकीले ग्रामिण भेगबाट स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।