काठमाडौँ, ७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको बताएका छन् । उनले एक विज्ञप्तिमार्फत यस्तो बताएका हुन् ।

gyanendra-shah-585b2cf8cc4322-81070265विज्ञप्तिमा उनले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको पनि उल्लेख गरेका छन् ।
पूर्वराजा शाहले हिजो जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ– “आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ ।”

निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधार किमार्थ बलियो हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ  । “अझै पनि जनताका आस्था ढलेका छैनन् । नेपाली मन मष्तिस्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले राष्ट्र बचाउन फेरी एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर र प्रखररुपले जाग्नै परेको छ”, विज्ञप्तिमा भनिएको छ ।

“दिनानुदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको छ। नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको छ। आज नेपाली बिचको सामाजिक सद्‍भाव मेटिँदैछ भने तराई, पहाड र हिमाल माझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

उनले राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अभिभाज्यताको सन्देश फैलाउन पनि आग्रह गरेका छन् ।