काठमाडौं, ६ पुस । युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको छानविन गर्न एक छानविन समिति गठन गरिएको छ । गठित उच्चस्तरीय समितिले बुधबारदेखि काम थाल्दैछ ।
गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । समितिलाई घटनाको छानबिन गरी सत्यतथ्य सहितको प्रतिवेदन १५ दिनभित्र बुझाउने जिम्मेवारी दिइएको छ । तिवारीलाई गोली हान्नेको खोजी भइरहेको र शंकास्पद केहीलाई पक्राउ गरेर छानविन चलिरहेको गृह मन्त्रालयले जनाएको छ ।
हत्याको विरोधमा युवा संघ नेपालले रुपन्देहीसहित विभिन्न ठाउँमा प्रदर्शन गरेको छ । रुपन्देही बुधबार पनि बन्द छ । तिवारीको बुधबार शव यात्रासहित अन्त्येष्टि गर्ने तयारी छ ।
सोमबार तिवारीलाई मोटरसाइकलमा रहेका अपरिचित व्यक्तिले गोली हानेका थिए र तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा ज्यान गएको थियो ।
