घोराही ६ पुस । प्रेस चौतारी नेपाल दाङ शाखाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न माग गरेकोछ । मंगलबार घोराहीमा बसेको बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न जिल्लाका सञ्चारमाध्यमहरुलाई आग्रह गरेको छ । ऐन कार्यान्वयनमा नआउँदा श्रमजीवी पत्रकारहरु समस्यामा पर्दै गएको भन्दै बैठकले ऐन कार्यान्वयनमा ढिलाई नगर्न सबैमा आग्रह गरेको छ । जिल्ला अध्यक्ष टीका बस्नेतको अध्यक्षता एवं नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काको प्रमुख आतिथ्यता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यतामा बसेको बैठकले पत्रकार महासंघको सदस्यता नविकरण गर्न सम्पूर्ण सदस्यहरुलाई आग्रह गरेको छ ।
बैठकले चौतारीका पूर्व अध्यक्ष दुर्गालाल केसीका बुबा र साधारण सदस्य बिमला केसीका ससुरा धनिराम खत्रीको निधन प्रति स्रद्धाञ्जली व्यक्त गरेको छ । साथै पुस ७ गते श्रद्धाञ्जली कार्यक्रमगर्ने निर्णय चौतारीले गरेको छ । उपाध्यक्ष संगीत बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमलाई एमाले दाङका सचिव हिराचन्द्र केसी, उप–सचिव सुरामणि बेलबासे, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारी लगायतले सम्वोधन गरेका थिए । बैठकको सहजीकरण सह–सचिव दशरथ घिमिरेले गरेका थिए ।