सुर्खेत, ५ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता उल्ट्याउने कोशिस भइरहेको बताएका छन् ।
आज माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘माओवादी आन्दोलन केही कमजोर भएपछि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी मान्यताजस्ता परिवर्तनका मुद्दा उल्टाउने कोशिस भइरहेको छ । बुर्जुवा र प्रतिक्रियावादी शक्तिलाई परिवर्तन पचेकै छैन । प्रतिपक्षका कतिपय नेताहरु राजतन्त्र र २०४७ सालकै संविधान ठीक थियो भन्ने ठाउँमा आएका छन् । गणतन्त्र र संघीयता उल्टिँदा माओवादी आन्दोलनको औचित्य समाप्त हुन्छ । परिवर्तनका मुद्दा जोगााउन माओवादी धाराहरुको एकता अनिवार्य छ ।’
गणतन्त्र जोगाउन माओवादी एकतामा जोड दिँदै प्रचण्डले भने, ‘हामीले दश माओवादी घटकसँग एकता गरेका छौं । तर, माओवादी एकता अभियान पुरा भएको छैन । अहिले पनि विभिन्न धारामा रहेका माओवादीहरुसँग एकताको प्रयत्न जारी छ । मैले सबैसँग निरन्तर कुराकानी गरिरहेको छु । पहिले हामीले पार्टीको एकतालाई मजभूत बनाऔं, अनि सबै माओवादी धारालाई एकतावद्ध गर्न सबैले पहल गरौं । हामीले प्रष्ट रुपमा बुझ्नुपर्छ, माओवादीको एकता अभियान अहिले पनि जारी छ ।’
संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पूनर्निर्माण र समृद्धि सरकारका मूख्य प्राथमिकता भएकोमा जोड दिँदै प्रचण्डले सरकार आफ्ना प्राथमिकतामा स्पष्ट भएको बताए । संविधान कार्यान्वयन, पूनर्निर्माण, सन्तुलित विदेश नीति, वैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्या समाधानमा सरकार निरन्तर क्रियाशील भएको र सरकारले गरीबका लागि सरकार, जनता पेन्सनजस्ता महत्वपूर्ण कार्यक्रम ल्याउँदै गरेको उनले जानकारी दिए ।
