रुपन्देही, ५ पुस । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा लुम्विनी अञ्चलमा बन्द भएको छ । रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, गुल्मी तथा अर्घाखाँचीमा बन्द भएको छ ।
बन्दका कारण आज बिहानैदेखि गाडी चलेका छैनन् । बजार, पसल तथा शैक्षिक संस्थाहरु ठप्प छन् । हत्यारालाई पक्राउ गरी कानुनी कारवाहीको माग गर्दै नेकपा एमालेले लुम्विनी अञ्चल बन्दको आह्वान गरेको हो ।
पाल्पामा सोमाबार बेलुकादेखि नै बन्द छ । युवा संघ पाल्पाका अध्यक्ष करुणा काफ्लेले आज बिहान ६ देखि बेलुक ६ बजेसम्म बन्द रहेको जानकारी दिए ।
यस्तै युवा संघ कपिलवस्तुले आह्वान गरेको चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग, चन्द्रौटा–कृष्णनगर, जितपुर–तौलिहवा र तौलिहवा–लुम्विनी सडकखण्डमा गाडी चलेका छैनन् ।
तिवारीको हत्याको विरोधमा युवा संघ गुल्मीले पनि आज बिहानैदेखि गुल्मीमा प्रदर्शन गरेको छ । यस्तै रुपन्देही नवलपरासी तथा अर्घाखाँचीमा पनि बिहानैदेखि बन्द भएका छन् ।