जाजरकोट, ५ पुस । हामीले देख्ने गर्छौ बजार क्षेत्रमा विभिन्न लागूऔषध ओसारपसारमा नाइकेभन्दा सर्वसाधारणहरु फसेको । लागूऔषध कारोवारीहरुले गाउँका सोझा जनतालाई भरिया बनाएर होस् या यो समान त्यो ठाउँसम्म लिदिनुहोस् तपाइँलाई पैसा दिन्छु भनेर । यसरी तस्करहरुले आफूभन्दा अरुलाई फराउदै कारोवार गरिरहेका हुन्छन् ।
त्यस्तै गरी अहिले पहाडी जिल्ला जाजरकोटको दुर्गम गाउँमा तस्करहरूले लागूऔषध अफिमको बीउ खेती गर्न भन्दै बाँड्न थालेका छन् । सोझा किसानहरूलाई प्रतितोला ५ सय रुपैयाँमा आफैंले खरिद गरिदिने भन्दै तस्करले अफिम खेती गर्न उक्साउने गरेका छन् । किसानहरूलााई दानाको अचार खान मिल्ने र त्यसबाट निक्लने चोप आफैंले खरिद गर्ने भन्दै अपरिचित मान्छेले अफिमको बीउ गाउँमा बाँड्ने गरेको किसानहरू बताउँछन् ।
यो खेतीबाट राम्रो फाइदा हुन्छ भनेर अपरिचित मान्छेले अफिमको बीउ गाउँगाउँमा बाँडेको डाँडागाउँ ६ का गणेश बुढाले बताए । आफू घरमा नभएको बेला कोही आएर बीउ दिएको रहेछ, अफिम भन्ने चिनेपछि नलगाएर फालेको बुढाले जानकारी दिए । कात्तिकदेखि मंसिरसम्म भारतीय नागरिकसमेत आएर अफिमको बीउ बाँडेर जाने गरेका छन् । वर्ष तस्करहरूले गाउँका सोझा किसानलाई अफिम खेती गर्न लगाउने गरेको पाइएको छ । अहिले लगाएको अफिमको बीउ दिनेले नै फाल्गुन चैतमा आएर संकलन गरी लिने गरेकोकिसानहरू बताउँछन् ।
अफिम लागूऔषध हो, यसको खेती गैरकानुनी मानिन्छ भन्ने जानकारी नपाउँदा किसान अन्जानमा अफिम खेती गर्न पुग्छन् । गाउँमा कतिबेला को आएर अफिमको बीउ बाँडेर जान्छन् भन्ने नै सबैलाई जानकारी नहुने स्थानीय अमबहादुर बुढाले बताए । ‘को आएर कसलाई के सल्लाह दिन्छन्, थाहा नै हँुदैन,’ उनले भने ।
अघिल्लो वर्ष, किसानले अन्जानमा गरको अफिम खेती प्रहरीले गाउँमै पुगेर नष्ट गरेको थियो । तर, त्यसबेला पनि खेती गर्न लगाउने तस्करको भने पत्तो नै लाग्नसकेको थिएन । यो वर्ष, पनि विभिन्नसमय–समयमा फरक–फरक व्यक्ति आएर अफिमको बीउ बाँडेर जाने गरेको स्थानीयको भनाइ छ ।
तस्करहरूले जाजरकोटको डाँडागाउँ, खगेनकोट, रग्दा, भगवती, लहँलगायतका गाविसमा किसानलाई अफिम खेती गर्न उक्साउने गरेका छन् । जिल्लाका गरिब किसानलाई ठूलो आर्थिक लोभ देखाएर तस्करले अफिम–चरेस खेती र कारोबारमा लगाउँदै आएका छन् । तस्करलाई पक्रन नसक्दा स्थानीय मारमा पर्ने गरेका छन् ।
तस्करले अफिमको बीउ बाँडेको खबर आएपछि गाउँमा प्रहरी परिचालन गरेर वास्तविकता पत्ता लगाउने जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । उनले गाउँलेहरुलाई सचेत हुन पनि आग्रह गरेका छन् ।