मार्क कलेजद्वारा १० हजार सहयोग
15644403_355834671452190_675902389_n घोराही । पत्रकार एवं साहित्यकार सविन प्रियासनले आफूले प्रकाशन गर्नु भएको उपन्यास बिक्रीबाट शैक्षिक अक्ष्यकोष स्थापना अभियान सुरु गर्नु भएको छ । असहाय बालबालिकाका लागि शैक्षिक सहयोग अक्षयकोष स्थापना गर्ने उद्देश्यले प्रकाशन गरिएको पुनरागमन उपन्यासबाट संकलित रकम अक्षयकोष निर्माण गर्न लागिएको उपन्यासकार प्रियासनले जानकारी दिनुभयो । यसै वर्ष ५ लाख बराबरको शैक्षिक अक्षयकोष स्थापना गर्ने उद्देश्य राखिएको र यसका लागि जिल्लाका विद्यालय, संघसंस्था, सरकारी कार्यालय, दात्ता, एवं शुभेच्छुकहरुसँग सहकार्य हुने प्रियासनको भनाई छ । यहीक्रममा घोराहीस्थित मार्क कलेजले अक्षयकोष स्थापनाका लागि १० हजार बराबरको उपन्यास खरिद गरेको छ । कलेजका प्रमुख शंकरप्रसाद डाँगीले पुस्तक खरिद वापतको रकम उपन्यासकार प्रियासनलाई हस्तान्तरण गर्नु भएको छ ।

15673255_355831834785807_686054770_n-2रकम हस्तान्तरण गर्दै कलेज प्रमुख डाँगीले कलेजा, शिक्षक एवं विद्यार्थीहरुले अत्यन्त रुची दिएर पुस्तक खरिद गरेको र संकलित रकम उपन्यासकारलाई हस्तान्तरण गरिएको बताउनुभयो । अक्षयकोष स्थापनाका लागि दाङका १० वटा कलेजहरुमा विशेष कार्यक्रमहरु भइसकेका छन् । हालसम्म सबै कलेजले अक्षयकोषमा पुस्तक खरिद गरेर आफ्नो सहभागिता जनाउने प्रतिबद्धता जनाएको प्रियासनले जानकारी दिनुभयो । यो वर्षमा ५ लाख बराबरको अक्षयकोष निर्माण गरेर प्यावसनसँग सहकार्य गरी जिल्लास्थित केही विद्यालयहरुमा असहाय, अशक्त बालबालिकाहरुलाई तल्लो कक्षादेखि क्रमशः उच्च शिक्षासम्म अध्ययनसहयोग गरिनेछ । अक्षयकोषका लागि संस्थागतरुपमा सहयोग गर्ने सबै संघसंस्थाहरुको नाम पारदर्शी तरिकाले सञ्चार माध्यमहरुबाट सार्वजनिक गरिने प्रियासनले जानकारी दिनुभयो ।
शैक्षिक कोषमा रकम बृद्धि भएमा विद्यार्थीको संख्या पनि बृद्धि गरिनेछ । असहाय बालबालिकालाई अध्ययन गर्नका लागि सबै खाले बन्दोबस्त गरिने र विद्यार्थी छनौंट समेत पारदर्शी तरिकाले हुने बताईएको छ । प्रियासनले शैक्षिक कोषका लागि व्यक्तिगतरुपमा समेत विभिन्न व्यक्तिहरुले पुस्तक खरिद गरिरहेको जानकारी दिनुभयो । केही दिनपछि सार्वजनिक कार्यक्रम गरी अक्षयकोषमा हालसम्म संकलन भएको रकमको बारेमा अवगत गराउने योजना प्रियासनको छ । व्यक्तिगतरुपमा पुस्तक बिक्रीबाट असहाय बालबालिकाका लागि शैक्षिक कोष निर्माण गर्न लागिएको यो पहिलो पटक हो ।