bhaban-nirman-aacharsahitaभरतराज शर्मा / तुलसीपुर ५ पुस । सरकार द्धारा निर्धारण गरिएको भवन निर्माण आचार सहिंताको पुर्णरुपमा कार्यान्वयन हुन नसकेको पाइएको छ । आचार संहिताको पछिल्लो प्रावधान अनुसार भवन निर्माण गर्दा कुल जग्गाको ३३ प्रतिसत भूभाग खुल्ला छोड्नुपर्ने व्यवस्था गरिएको छ ।

गतसाल बैशाखमा गएको विनासकारी भूकम्पछि सरकारले भवन निर्माणका लागि नयाँ आचार संहिता लागु गरेको थियो । तर उक्त सरकारी भवन निर्माण आचार संहिता दाङमा पूर्ण रुपमा कार्यान्वयन भएको छैन ।

भवन निर्माण आचार सहिंता अनुसार भवन निर्माण गर्दा पाँच धुर जग्गामा घर नै वन्ने संभावना नभएपछि नगरपालिकाको अनुमति विना नै घर निर्माण गरिसकेपछि नगरपालिकामा घर नक्शापासको लागि पुग्ने गरेको नगरपालिका स्रोतले जानकारी दिएकोछ ।  भवन निर्माण आचार सहिंता अनुसार कुल जग्गाको ३३ प्रतिशत जग्गा खालि छोडेर घर निर्माण गर्नुपर्नै प्रावधान छ ।

तर ३३ प्रतिशत जग्गा छोड्दा चलनचल्तिमा रहेको पाँच धुरको जग्गा वा  घडेरीमा मस्किलले दुईकोठाको घर  मात्रै निर्माणगर्न सकिने भएकोले घर निर्माणकर्ताहरुले आचार संहिता पूर्ण पालना नगरेको पाइएको तुलसीपुर नगरपालिकाका ओभरसियर राधेश्याम उपाध्यायले जानकारी दिए । ग्रामिण क्षेत्रमा प्रसस्तै जग्गा भएपनि बजार क्षेत्रमा प्लटिङ गरेका पाँच धुरका घडेरी किन्नेहरु बढीजसो आचार संहिता उलंघन गरेको उपाध्यायले बताए ।

ओभरसियर उपाध्यायका अनुसार नगरपालिकाको अनुमति विना नै पहिले घर वनाउने र पछि जरिवाना तिरेर भएपनि  नक्सापास गराउने प्रवृतिले तुलसीपुरमा भवन निर्माण आचार संिहता २०७२ को पुर्ण रुपमा  कार्यान्वयन हुन नसकेको हो । नगरपालिकाको तथ्याङक अनुसारपनि घर निर्माण गर्दा शुरु कै अवस्थामा नगरपालिकाबाट प्रदान गरिएको नक्शापासको अनुमति लगेपनि त्यो फरक ढंगले घर निर्माण गरेको पाइएको थुप्रै उदाहरणहरु फेला परेको उपाध्यायले बताए ।

उनका अनुसार घर निर्माण गरेर जरिमाना सहित घरनक्सा पास गर्नेको संख्या तुलसीपुर क्षेत्रमा अझैं पनि उत्तिकै रहेको छ । नगरपालिकाको तथ्याङक अनुसार चालु आर्थिक वर्षमा घर निर्माणकालागि १ सय ५५जनाको निवेदन परेको छ । घर नक्शा पास भएका २ सय ३८ मध्य ६० प्रतिशत घर धनिले नगरपालिकामा जरिमाना तिरेर नक्शा पास गराएको तथ्याङकले देखाएको छ ।

नगरपालिका योजना शाखाका ओभरसियर उपाध्यायका अनुसार गएको आर्थिक वर्ष ०७२÷०७३मा तुलसीपुर नगरपालिकामा कुल ३ सय ३३ घरहरुको नक्सा पास भएको थियो । त्यस्तै चालु आर्थिक वर्ष ०७३/०७४को मसिंर मसान्त सम्म बजार क्षेत्रमा मात्रै २ सय ३८ जना व्यक्तिले भवन निर्माणका लागि नक्शा पास तथा भवन निर्माणको  अनुमति प्रदान गरिएको छ । नगरपालिकाका अनुसार हालसम्म त्यसमध्ये १सय ५५घर निर्माणको प्रक्रियामा रहेका छन् ।  निर्माण आचारसहिंताको पुर्ण रुपमा कार्यान्वयन होस भन्ने उदेश्यले नगरपालिकाले अनुगमनको व्यवस्था गरेको भएपनि नगरपालिका क्षेत्रको ग्रामिण भेगमा भने मनोमानि ढंगले भवन निर्माण हुँदै आएका छन् ।

नगरपालिकाको अनुमति विना नै निर्माण गरिएका कतिपय घरहरुको अनुगमन पनि नहुने गरेको र त्यसलाई रोक्नका लागि कतैवाट प्रयत्न समेत नभएको हुँदा भवन निर्माण आचारसंहिता पूर्ण रुपमा  कार्यान्वयमा आउन नसकेको नगरपालिका स्रोत बताउँछ ।   ०७२ वैशाखमा आएको विनासकारी भुकम्प वाट ठलो धनजनको क्षेति भएपछि सरकारले भवन निर्माण आचार सहिंता २०७२जारी गरेको थियो । नयाँ आचार संहता जारी भएपछि त्यसको पुर्ण कार्यान्वयनमा जोडदिने उदेश्यले  स्थानीय निकायलाई पत्राचार गरेर तालिम समेत प्रदान गरिएको थियो । राप्ती समाचार