काठमाडौं, ५ पुस । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकभर जथाभावी भटाभट नगरपालिका घोषणा गर्यो । नगरपालिकाको संख्या दुई सय १७ पुर्‍याए पुगको छ ।

002fa70d0fa6fb675317cccedf37b816तर ती अधिकांश नगरपालिकामा आधारभूत पूर्वाधारसमेत छैनन् । नगरपालिकाहरू भवनबिहीन भएपछि सरकारले गत आव २०७२/ ७३ बाट जग्गा हुनेलाई भवन बनाउन बजेट दिन सुरु गरेको हो ।

ती निकायहरू भवनविहीन हुँदा कर्मचारीलाई सेवा प्रवाह गर्न र सेवाग्राहीले सेवासुविधा प्राप्त गर्न असहज अवस्था भोगिरहनु परेको छ । यस्तै, नपाका भेला, बैठक, गोष्ठीसमेत बाहिर सभाहलहरू भाडामा लिएर गर्नुपर्दा अनावश्यक खर्च भएको छ ।

कार्यालय प्रयोजनका कम्प्युटरजस्ता उपकरण तथा अन्य सामग्रीहरू हिफाजत गर्न र भण्डारणमासमेत प्रतिकुलता छ । गत आवमा ७३ नयाँ नगरपालिकाको भवन निर्माण गर्न प्रत्येकलाई एक करोड रुपैयाँको दरले ७३ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

जसमा अधिकांश भवनविहीन सहित एकाध जीर्ण भएकासमेत थिए । यीमध्ये ४९ नपाले मात्रै भवन बनाउन सुरु गरेका संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सघन अनुगमन विश्लेषणात्मक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

“१४ वटा नगरपालिकाको भवन निर्माणार्थ प्रक्रिया अघि बढेको छ,” प्रतिवेदन भन्छ । तिनीहरूको माटो परीक्षण, ड्रइङ र डिजाइन हुँदै गरेको मन्त्रालयको नगरपालिका शाखाले जानकारी दिएको छ। शाखाले पछिल्लो समय बनेका सबै नयाँ नगरपालिकाहरू भवनविहीन रहेको बतायो ।

यसैगरी, चालू आव २०७३/७४ मा गत वर्षका क्रमागतसहित एक सय ३७ नपाको भवन बनाउनको लागि ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आवमाजस्तै समरुपता नभई चालू आवमा कार्यप्रकृति र आवश्यकता हेरेर बजेट घटबढ गरिएको छ । जसले गर्दा ती निकायहरूलाई अधिकतम २ करोड र न्युनतम ५० लाख रुपैयाँसम्म रकम प्रदान गरिएको छ ।

स्थानीय निकाय आर्थिक प्रशासन नियमवाली, सार्वजनिक खरिद ऐन तथा स्थानीय स्वायत्त शासन ऐन, नियमवालीबमोजिम नपाहरूले बोलपत्र माग गर्ने तथा ठेक्कापट्टा गर्छन् । कतिपयले बहुवर्षिय ठेक्का लगाएका छन् । भवन निर्माणको लागत अनुमान ८/१० करोड रुपैयाँसम्म भएपनि खर्च गर्ने क्षमताअनुसार बजेट विनियोजन गरिएको हो ।

भवन नभएका तर बनाउनको लागि जग्गा भएका÷पाएका नगरपालिकाको लागि बजेट प्रदान गरिएको मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले बताए ।

गत वर्ष भवन बनाउन सहयोग पाएकाले चालू आवमा समेत क्रमागतरुपमा रकम पाएका छन् । उता, पुराना ५८ नपामध्ये कतिपय जीर्ण छन् । भवन जीर्ण भएर कीर्तिपुर नपा सत्तलमा सञ्चालित छ । गत वर्षबाट निर्माणाधीन यस नपाको लागि चालू आवमा २ करोड रुपैयाँ रकम प्रदान गरिएको छ ।