इन्द्रेणी संवाददाता
घोराही, १ पुस । शिक्षा मन्त्री धनिराम पौडेलले अहिलको अवस्थामा संविधानको कार्यान्वयनको एक मात्र विकल्प स्थानीय, प्रदेश र संसदको निर्वाचन भएको बताएका छन् ।
प्रेस सेन्टर दाङले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले संविधानको कार्यान्वयनको सवालमा कुनै पनि दलहरु निर्वाचनबाट भाग्न नहुँने बताए ।
सरकारले निर्वाचनको तयारी गरिरहेको भन्दै मन्त्री पौडेलले यसका लागि कानुन, एन नियमहरु बनाउने काम भइरहेको बताए । केही दलहरुले पुरानै संरचनाको आधारमा निर्वाचनमा जाने भने पनि मुलुक संघीयतामा गइसकेकाले संघीयताका आधारमा निर्वाचनमा जादा राम्रो हुने जिकिर गरे ।
शिक्षा क्षेत्रको प्रशंगमा मन्त्री पौडेलले शिक्षामा देखिएका विकृतिहरुलाई राष्ट्रिय शिक्षा आयोगबाट समाधान गर्ने बताए । प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रकाश चौधरीले स्वागत गरेका थिए भने सहजीकरण सचिव पाण्डव शर्माले गरेका थिए ।