पोखरा, १ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा कुनै पनि दलले बिमति राख्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
आज प्रेस सेन्टर नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।
अहिलेको प्रस्ताव बिगतमा प्रतिपक्षी दलले नै अघि सारेको प्रस्ताव हो । यसमा विगतमा सबै दलहरु सहमत थिए, अहिले त्यहीँ प्रस्तावको विरोध गर्नुको कुनै अर्थ छैन । अहिलेको प्रस्तावले राष्ट्रिय हित र एकतामा कुनै आँच आउँदैन । त्यसैले अहिलेको प्रस्तावमा बिमति राख्नुपर्ने कुनै कारण छैन ।’
सबैको सहमतिमै सरकार राष्ट्रिय संकटको समाधान खोज्न प्रयत्नशील रहेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘सरकार सहमतिमै राष्ट्रिय संकटको समाधान चाहन्छ । म हिमाल, पहाड र तराईलाई मिलाएर राष्ट्रिय एकता हासिल गर्ने र संविधान कार्यान्वयन गर्ने प्रयत्नमा छु । यसलाई गलत अर्थमा व्याख्या गर्नु कसैको हितमा छैन ।
सम्वाद र सहमतिमै मात्र निकास सम्भव छ । संशोधन प्रस्ताव फिर्ता हुन्छ कि भन्ने आशंका पनि छ, संशोधन प्रस्ताव फिर्ता हुँदैन र रोकिँदैन पनि । तर, सहमतिमा संसदीय प्रक्रियाबाट यसलाई परिमार्जन गर्न सकिन्छ ।’
सरकार स्थानीय तहको निर्वाचनकै पक्षमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘स्थानीय निकायको निर्वाचन हुनै सक्दैन । हुने स्थानीय तहको निर्वाचन नै हो । तर, संक्रमणकालीन व्यवस्थामा अहिलेकै स्थानीय निकायलाई स्थानीय तहमा बदलेर निर्वाचन गर्ने तर्क पनि आएको छ । तर, कुनै निष्कर्षमा पुगिएको छैन ।
नयाँ संरचनामा स्थानीय तहको निर्वाचन कि पुरानै संरचनालाई स्थानीय तहमा रुपान्तरण गरेर निर्वाचन भन्ने सवाल केही दिनमा टुंगो लाग्छ ।’