सिरहा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो मधेससँग प्रेम रहेको बारम्बार बताए पनि बेला–बेला भिलेन आएर कुरा बिगार्ने गरेको बताएका छन् । बुधबार माओवादी नेता मात्रिका यादवको छोराको विवाहमा सिरहा पुगेका प्रधानमन्त्रीले विवाह समारोहमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले संशोधन प्रस्ताव मधेसी जनताकै माग सम्बोधन गर्न ल्याएको बताउँदै आफू मधेसी जनता र विशेष गरेर सिरहाको जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताए ।
यसअघि, लहानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव फिर्ता नहुने तर परिमार्जन हुनसक्ने बताए ।
उनले भने, ‘दर्ता भएको संशोधन प्रस्ताव फिर्ता हुँदैन । बरु त्यसलाई परिमार्जन गर्न सकिन्छ ।’ उनले संशोधन प्रस्ताव परिमाजर्न मधेसी जनताले भनेको आधारमा हुने र मधेसवादी दल पनि त्यसलाई पास गराउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
‘बाहिर हल्ला भएजस्तो गरी संशोधन प्रस्ताव परिमार्जन हुँदैन । सकारात्मक परिणाम ल्याउने गरी संशोधन प्रस्ताव परिमार्जन हुनेछ,’ प्रधानमन्त्रीले भने ।
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पछिल्लो गतिविधिले समस्यालाई समाधान गर्ने भन्दा संक्रमणलाई लम्ब्याउने आरोप लगाए ।
रातोपाटी बाट











