
घोराही २७ मंसिर । घोराही सिमेन्ट उद्योगको चुनढुंगा खानी स्थालमा जाने सडक आसपासका बस्तीलाई धुलो, धुवा र ध्वनी प्रदुषणले गम्भिर असर गरेको छ । सडक छेउ र आसपासका बस्तीहरु धुलाम्य हुदा नागरिकहरुको दैनिकीमा नै असर गरेको भन्दै उनिहरुले धुलो नियन्त्रण गर्न र सडक कालो पत्रे गर्न माग गरेका हुन् ।
लक्ष्मीपुर गाबिस वडा नम्बर पाँचको सवारीकोट, गोरधारा, जस्पुर, छेकबार, कुमाकी, अम्लबासका साढे ३ सय घरधुरीका नागरिकहरु धुलो, धुवा र ध्वनीका कारण मारमा परेका छन् । सिमेन्ट उद्योगले धुलो मार्नका लागि एउटा ट्यांकर दिए पनि त्यो अपुग भएको भन्दै धुलो प्रभावित नागरिकहरुले ट्यांकर थप गर्न माग गरेका छन् ।
धुलोका कारण सडक मै हिड्न नसक्ने अबस्था रहेको, धुलोले तरकारी खाने लायकको नभएको, कपडा सुकाउने ठाउँ समेत नभएको, बस्तुभाउ चरन नै नभएको र घाँसपात समेतलाई धुलोले ढोक्दा दैनिकी नै जोखिममा परेको स्थानिय भिमबहादुर कुवरले गुनासो गरेका छन् ।











