सौडियार २७ मंसिर । दाङको सौडियारका बालबालिकाहरुले आफ्नो योजना आफै छानेका छन । स्थानिय निकाय श्रोत परिचालन कार्यविधि २०६९ अनुसार योजना छनौटको १४ चरण मध्य बस्ती भेला हुनु भन्दा अघि बाल भेला मार्फत योजना छनौट गरेका हुन ।
बाल सञ्जाल सौडियारको आयोजना तथा सौडियार गाँउ बिकास समितिको सहयोगमा भएको भेलाले बालबालिका क्षेत्रमा हाल सम्म भएका परिवर्तनको मापन,बालबालिका सुरक्षित र असुरक्षित क्षेत्रको पहिचान,मन पर्ने र मन नपर्ने बिषयहरु चित्र मार्फत गरेका छन । सञ्जालका अध्यक्ष पुष्पा डागीको अध्यक्षता तथा बालमैत्री स्थानिय साशन समितिका अध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको भेलामा सहभागी बालबालिकाहरुले बालबालिकासंग सम्वन्धि दुई दर्जन बढि सवालहरु समेत पहिचान गरेका छन ।
जस अनुसार सौडियारमा बालबिवाह,पूर्ण सरसफाईको अभाव,छात्रा छात्रका लागी बिद्यालयको अलग अलग शौचालय नहुनु,जन्म दर्ता ३५ दिनभित्र नगराइनु,सानै उमेरमा गर्भधारण गर्नु,बाल दूव्र्यशनी,लैंगिक हिँसा,बाल क्लवलाई नेतृत्व बिकास कम हुनु,दक्ष स्वास्थ्यकर्मीबाट प्रशुती सेवा नगराइनु जस्ता सवालको पहिचान गरीएको सौडियार गा.वि.स.का बालमैत्री फोकलपर्सन बिमल योगीले जानकारी दिए । भेलाले आर्थिक बर्ष २०७३/ ०७४ को थप बजेट र आ.व.२०७४/०७५ को बजेटबाट कार्यान्वयन हुने गरी २५ वटा योजना तथा कार्यक्रम छनौट गरेको छ ।
जस अनुसार बालबिवाह न्यूनीकरणका लागी प्रत्येक वडामा सडक नाटक प्रर्दशन गर्ने,बालविवाह बिरुद्ध भित्तेलेखन तथा बिद्यालयहरुमा सचेतना कक्षा सञ्चालन गर्ने,बालबिवाह गरेका जोडीलाई सानै उमेरमा बच्चा पाउदा हुने जोखिमका बिषयमा तालिम दिने,जन्म दर्ताको महत्वका बिषयमा वडा तथा टोलमा अभियान चलाउने,बिपन्न परिवारका बालबालिकालाई पोशाक तथा स्टेशनरी बितरण गर्ने रहेका छन ।
यस्तै बाल दूर्वशनीलाई कम गर्न कार्ययोजना बनाई अभियान चलाउने,बाल सहभागिता बढाउने बिषयमा सरोकारवालासंग छलफल गर्ने,बालमैत्री भौतिक संरचना निर्माणका लागी बिद्यालय व्यवस्थापन समिति लगायत सरोकारवालालाई अनुरोध गर्ने,राष्ट्रिय बाल दिवस मनाउने तथा बाल भेला मार्फत योजना छान्ने बिषय समेटिएको छ । भेलाले बालमैत्री स्थानिय साशन गा.वि.स.घोषणाका लागी सवै बाल क्लवले सहयोग गर्ने निर्णय गर्दै हाल सम्म भएको प्रगतीको अभलिेखीकरण समेत गरेको छ ।
जस अनुसार बालबालिकाको लागी १५ प्रतिशत बजेट बिनियोजन गर्ने संस्थागत परिपाटीको बिकास भएको,बालबालिकासंग सरोकार राख्ने गा.वि.स.,बिद्यालय,स्वास्थ्य व्यवस्थापन समिति,वडा नागरिक मञ्च,एकिकृत योजना तर्जुमा समिति लगायतका कार्यालय तथा समितिमा बालबालिकाको संस्थागत प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।
यस्तै बिद्यालय तथा समुदायमा बालमैत्री भौतिक संरचना निर्माण सुरु भएको,छात्र छात्राका लागी अलग अलग शौचालय निर्माण भएको,सावुन पानीले हात धुने बानीको बिकास भएको,बाल बिवाहको संख्यामा कमी आएको,घर परिवारमा छोरा र छोरी बिचको बिभेद कम भएको,बालबालिकासंग बोल्ने भाषामा परिवर्तन भएको भेलामा सहभागी बालबालिकाहरुले बताएका छन । भेलामा सहभागी बालबालिकाहरुलाई तीन वटा समुहमा बिभाजन गरी सवाल पहिचान गरी योजना छनौट तथा प्राथमिकिकरण गर्न लगाइएको थियो । यसरी बालबालिकाले छानेका योजनालाई बाल क्लवका प्रतिनिधि मार्फत वस्ती भेला हुदै वडा नागरिक मञ्च मार्फत गा.वि.स.को एकिकृत योजना तर्जुमा समितिमा पठाइने छ ।
गा.वि.स.स्तरिय बाल सञ्जालका सचिव मिरा रानाको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा सञ्जालका निवर्तमान अध्यक्ष रोशनी घर्ती मगर,सहसचिव अस्मीता बिष्ट,पूर्व सचिव तेजबहादुर चौधरी लगायतले वोलेका थिए । भेलाको सहजीकरण सौडियार गा.वि.स.का सामाजिक परिचालक तथा बालमैत्री फोकलपर्सन बिमल योगीले गरेका थिए ।