काठमाडौं, २६ मंसिर । बौद्धमा एक ट्याक्सी चालकको शंकास्पद रुपमा ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दाले जोरपाटीको महानगरीय प्रहरी चौकीभित्र थुनेर सईसहित सात जनालाई जलाउने प्रयास गरेका छन् ।
बा २ झ २२३ नम्बरको ट्याक्सीका चालक दोलखाका ३६ वर्षे राजुकमार लामा बौद्धमा गम्भीर घाइते भेटिएपछि एक व्यक्तिले उपचार गर्न कारमा हालेर चौकी नजिक पुर्याए । प्रहरीले उनको आफन्तको खोजी गर्यो । र उनलाई उपचारका लागि बौद्धमा रहेको स्तुपा अस्पतालमा पुर्याइयो ।
त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगियो । त्यहाँ उपचारको क्रममा चालकको ज्यान गयो ।
लामाको शंकास्पद रुपमा ज्यान गएको भन्दै आफन्तसहित केही स्थानीयबासिन्दा बिहान बौद्ध प्रहरी चौकीमा उजुरी दिन आएका थिए । ‘चालकका आफन्त संयमित नै थिए । तर केही स्थानीयबासिन्दाले प्रहरीले ८ बजे नै होटल बन्द गराउने गरेको बिषयलाई इस्यु बनाएर आक्रमणको प्रयास गरे’ गौशालाका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले भने ।
स्थानीयले चौकीमा रहेका एउटा सरकारी मोटरसाइकल, अन्य तीनवटा मोटरसाइकल, कम्युटर, टिभीलगायतका सामान जलाउनुका साथै झ्याल ढोका पनि तोडफोड गरेको प्रहरी नायव निरीक्षक कार्कीले बताए ।
