काठमाण्डौ, ८ जेठ
किराँत समुदायले आज उभौली पर्व हर्षोउल्लासका साथ मनाउँदैछन ।
वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने उभौली पर्व विशेष गरि किरात समुदायका राई, लिम्बु, सुनुवार र याक्खा जातिले मनाउने गर्दछन् । उभौलीका दिन प्रकृति र भूमीको पूजा गर्ने गरिन्छ ।
उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ । अन्नबाली सप्रियोस र खाद्यान्नको अभाव नहोस् भन्ने कामनासहित किरात समुदायले यो पर्व मनाउने गर्दछन् ।
किराँत समुदायले वैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली पर्व मनाउने गर्दछन् । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रुपमा मनाइन्छ ।
उभौली पर्वका अवसरमा किराँत समुदायको मुख्य क्षेत्र नेपालको पुर्वी भागमा बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । यसैबीच राष्ट्रपति विद्या भण्डारीले मौलिक संस्कृति सहितको प्रमुख समुदाय किरातको पवित्र पर्व उभौलीका अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
उहाँले यस्ता पर्वले विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै समाजिक शान्ति र मेलमिलापका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।।