काठमाडौँ, १९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि बालुवाटार बोलाए ।
सरकारले हालै संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकको विपक्षमा रहेका मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक समेत रहेका यादव र बाबुरामलाई प्रधानमन्त्री प्रचण्डले संयुक्त रुपमा छलफलमा बोलाउनुको कारण के हो ? प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाविन्द आचार्य सरकारले हालै संसद्मा दर्ता गरेको संशोधन विधेयक र संविधान कार्यान्वयनसँगै निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बाबुराम र यादवलाई संयुक्त रुपमा बालुवाटार बोलाएको बताउँछन् ।
बालुवाटार स्रोतका अनुसार पछिल्लो पटक बाबुराम र उपेन्द्रले संयुक्त रुपमा विज्ञप्ति निकालेपछि त्यसमाथि सरकारको धारणा व्यक्त गर्न प्रधानमन्त्रीले संयुक्त रुपमा उनीहरुलाई बालुवाटार बोलाएका हुन् ।
प्रेस सल्लाहकार आचार्यका अनुसार प्रधानमन्त्रीले संयोजक भट्टराई र अध्यक्ष यादवले केही दिनअघि संयुक्त रुपमा निकालिएको विज्ञप्तिबारे समेत चासो राखेका थिए ।
प्रधानमन्त्री प्रचण्डले भट्टराई र यादवले निकालेको विज्ञप्तिमा उल्लेख गरेका विषयवस्तुमा आफ्नो पार्टी सकारात्मक रहेको बताएका थिए । तर उनले विज्ञप्तिमा उल्लेख भएका विषयवस्तुलार्इ संविधानमा उल्लेख गर्ने आफ्नो चाहना भए पनि सबैको सहमति आवश्यक भएकाले तत्काल सबै कुरालार्इ सम्बोधन गर्न नसकेको बताएका थिए ।
‘तपाईहरुले विज्ञप्तिमार्फत जे कुरामा सरकारको ध्यानाकर्षण गराउन खोज्नुभएको छ, त्यसमा हाम्रो पार्टी सकारात्मक छ तर सरकारको नेतृत्वकर्ताको हैसियतले मैले नेपाली कांग्रेससहितको समर्थनमा संशोधन विधेयक दर्ता गर्नुपर्छ, त्यसैले अहिले सरकारले सक्ने यति नै हो, यो संशोधन विधेयकमा अहिले सहयोग गरिदिनुस्’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले भट्टराई र यादवबीच एकता हुन लागेको खबरले आफू खुशी रहेको सुनाएका थिए । ‘परिवर्तनका पक्षधरताहरु एकताबद्ध भएरै अघि बढ्नुपर्छ, तपाईहरुबीचको एकता हुन लागेको खबरले म खुशी छु, परिवर्तनका एजेण्डा संस्थागत गर्न हामी एकजुट भएर अघि बढ्नुपर्छ’ प्रचण्डले भनेका थिए ।
