काठमाडौं, १८ मंसिर । नेपालका लागि भारतीय राजदूत रणजित रे ले मधेसी मोर्चासम्बद्ध दलका अध्यक्षहरूसँग संयुक्त भेट गर्दैछन्। शनिबार बिहान ९ बजे छलफलका लागि अध्यक्षहरूलाई लैनचौर स्थित दूतावास डाकिएको छ।
संविधान संशोधन प्रस्तावमा देखिएको मोर्चाको विमतिलाई सहमतिमा ढाल्न राजदूतले दलका अध्यक्षलाई ‘कन्भिन्स’ गर्ने बुझिएको छ।
शनिबार बिहानको लन्चसहितको छलफलका लागि टेलिफोन गरेर अध्यक्षहरूलाई खबर गरिएको उच्च स्रोतले नागरिकन्युजलाई बतायो।
‘अध्यक्षहरूसँग महामहिमले भेट्ने इच्छा गर्नु भएको छ, भोली ९ बजे आइदिनुहोला भनेर फोनमार्फत खबर आयो ,’ स्रोतले भन्यो।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीबाहेक बाँकी सबै दलका अध्यक्ष काठमाडौंमै रहेकाले उनीहरू दूतावासको निम्तोमा सरिक हुने बुझिएको छ। मोर्चामा सात दल सम्बद्ध छन्।
प्रत्यक्षरअप्रत्यक्ष रूपमा भारत संविधान संसोधन प्रस्तावको पक्षमा देखिएको छ। तर संशोधन प्रस्तावको विरोधमा व्यापारिक केन्द्र बुटवलसहित पश्चिम पहाडका जिल्लामा आन्दोलन चर्किएसँगै झस्केको सत्ता पक्षका लागि तनावको पारो त्यतिबेला थपियो जब मधेसी मोर्चाको पनि संसोधन प्रस्तावमा समर्थन रहेन।
