काठमाडौं, १५ मंसिर । त्रिभुबन राजपथमा चेकजाँचको क्रममा प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । चरेस, गाँजा, डाईजेपाम एम्पुल, फेनारगन र लुपिजेसिक एम्पुलसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । देशका विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले बताएको हो ।
धादिङको मकवानपुर डाँडाबास–५ बस्ने २२ वर्षीय आमोश गोलेलाई प्रहरीले ३ किलो लागूऔषध चरेश सहित पक्राउ गरेको छ । मकवानपुर पालुङबाट काठमाडौतर्फ आउँदै गरेको ना २ ख ७७३ नम्बरको यात्रुबाहक बसलाई मंगलबार प्रहरीले थाक्रे–७ हाप्सेचौर स्थित त्रिभुबन राजपथमा चेकजाँच गर्दा उनले बोकेको झोलाबाट उक्त लागू औषध चरेस बरामद गरेको प्रहरीले जनाएको छ ।
बाराको गढी–१ बस्ने २१ वर्षीय दलबहादुर बमजन र जयबहादुर बमजनलाई प्रहरीले अवैध लागूऔषध गाँजा १५ किलो सहित पक्राउ गरेको छ । नारायणगढबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ६ ख ८९० नम्बरको बसलाई मंगलबार अमलेखगञ्ज–६ आदाभारमा प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त गाँजा बरामद गरेको हो ।
त्यस्तै मोरङको केराबारी–४ बगैचा टोल बस्ने ३० वर्षीय दिपेन लिम्बुलाई प्रहरीले विभिन्न लागू औषधसहित पक्राउ गरेको छ । लिम्बुको साथबाट डाईजेपाम १५ एम्पुल, फेनारगन १५ एम्पुल र लुपिजेसिक १५ एम्पुल सहित मंगलबार बिराटनगर उपमहानगरपालिका–२१ स्थित भन्सार कार्यालयको १ नम्बर गेटमा पक्राउ गरेको हो ।











