मंसिर १४– वैदेशिक रोजगारमा जानेहरुलाई अलपत्र पार्ने म्यानपावरहरुलाई सरकारले कारवाही गरेको खासै पाइदैन तर यसपटक भने केही पहल गरेको देखिएको छ । युएईमा नेपाली कामदार पठाएर अलपत्र पार्ने दुई वटा म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ । डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावर र भिक्टोरी नेपाल प्रालिलाई कारबाही गर्न दूतावासले सिफारिस गरेको दूतावासका दितिय सचिव कृष्ण अर्यालले बताए ।

uae-alapatra-1युएईका बिभिन्न कम्पनीलाई समेत कालो सूचीमा राखिएको छ । यी कम्पनीमा कामदार नपठाउन दूतावासले वैदेशिक रोजगार विभाग काठमाडौंमा सिफारिस गरेको छ । नेपाली दूतावासले हालै युएईका बिभिन्न कम्पनीमा सेक्युरिटी गार्डमा पठाएर कामदार अलपत्र बनाउने नेपालका दुई म्यानपावर कम्पनीलाई तत्काल कारबाही गर्न पनि सिफारिस पत्र पठाएको छ ।

गएको अगस्ट महिनामा सेक्युरिटी गार्डका रुपमा २१ नेपाली कामदार ल्याएको युएईको इतिसलात फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीले पाँच महिना सम्म कामदारलाई काम र तलब नदिएपछि खान बस्न समेत समस्या भएको थियो ।

यी रोजगारदाता कम्पनी कालो सूचीमा

अफ्रिना ब्युटी एण्ड हेना सेण्टर
त्यस्तै युएईमा रहेको अफ्रिना ब्युटी एण्ड हेना सेण्टरले १२ सय दिर्हाम न्युनतम तलब हुनु पर्नेमा ५ सय दिर्हाम मात्र दिएपछि कालो सूचिमा राखिएको छ ।
यो कम्पनीमा अब देखी श्रम अनुमती नदिन पनि सिफारीस गरिएको छ । अहिले झण्डै ४० जना महिला कार्यरत छन् । यो कम्पनी विरुद्ध करार अवधीभर काम गरेर पाउने उपदान बापतको रकम नदिएको जस्ता उजुरी परको थियो ।

लिडर सेक्युरिटी कम्पनी
सारजाहको लिडर सेक्युरिटी कम्पनीमाथी पनि दूतावासले कारबाही थालेको छ । यस कम्पनीमा ३० जना नेपालीलाई सम्झौता अनुसार सेवा सुविधा नदिएपछि कारबाही थालिएको हो । कम्पनी, एनआरएनए र नेपाली दूतावासबिच सेवा सुविधा दिन सहमति भएपनि कामदारले अझै नपाएको गुनासो गरेका छन् । १९ जनाले तोके अनुसार सेवा सुविधा नपाएको र ११ जना सेवा सुविधा नपाई घर फर्किन वाध्य बनाएको दूतावासले जनाएको छ ।

इजदा एसेट म्यानेजमेन्ट कम्पनी
दूतावासको कालो सुचिमा पर्ने अर्को रोजगारदाता कम्पनी हो इजदा एसेट म्यानेजमेन्ट कम्पनी । यहाँ झण्डै १ सय ३५ जना कामदार समस्यामा परेका थिए । त्यसमध्य ७५ जना नेपाल फर्किएका छन् ।
कम्पनीले सम्झौता अनुसार तलब नदिएको, तोकेको भन्दा फरक काम लगाएको थियो । तर सम्बन्धित म्यानपावारले उनीहरुलाई नेपाल फर्काएको छ । प्याराडाइजले ४५ जना, अल जराफले ३० जना र डिप गेटवेले दूतावाससँग समन्वयब गरेर नेपाल फर्काएका हुन् । कामदार फर्काएपछि म्यानपावर कम्पनी जोगिएपनि रोजगार दाता भने कालो सूचिमा परेको हो ।

भल्ट्रान्स ट्रान्सपोर्टेसन सिस्टम कम्पनी
१ हजार भन्दा धेरै नेपाली कामदार कार्यरत युएईको भल्ट्रान्स ट्रान्सपोर्टेसन सिस्टम कम्पनीमा बेटा इन्टरनेशनल र क्यापिटल रिक्रुटिङबाट आउने नेपाली कामदारले ३ लाख ५० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँसम्म ड्राइभरका लागि पैसा तिर्नु परेको र लाईसेन्स पाउनका लागि दोहोरो रकम तिर्नु परेको उजुरी दुतावासमा गरेका थिए । युएई आएर पनि लाइन्सेन्सका लागि अतिरिक्त रकम तिर्नु परेको जनाएका छन् ।

कम्पनीले ओभर फाइन लगाउने गरेको र समस्या समाधान गर्न दूतावासलाई असहयोग गरेको भन्दै कारबाहीका लागि सिफारिस गर्ने तयारी गरेको छ । डिडी ओभरसिजबाट दुबईको रोयल फाल्कोन सेक्युरिटी कम्पनीमा आएका २० जना कामदारले ५ महिनादेखि तलब नपाएको, खानाको समस्या परेको भन्दै दुतावासमा निवेदन दिएका थिए । कम्पनी, म्यानपावर एजेन्सी र कामदारबिच दुतावासमै छलफल भएको थियो ।