दैलेख । ‘विवाह भएको दुई महिनादेखि नै बिना कुनै कारण कुटपीट गरिरहने क्रममा श्रीमान दिपेन्द्रबहादुर शाहीले मंसिर ६ गते राति हत्केलामा फलामको किला ठोक्नुभयो, उहाँलाई झिकाई कारबाही गरी पाऊँ ।’

samichha-1बाँसी गाविस–४ चुकीआमस्थित माइतीघरमा शरण लिएकी १९ वर्षे समीक्षाकुमारी शाहीले शुक्रबार प्रहरीमा दिएको उजुरीमा माथिको व्यहोरा उल्लेख छ । कुटपीट भएको खवर पाएपछि मंसिर ७ गते उनका दाजु हृदयश शाही समीक्षाको घर गमौडी–७ धारागाउँ पुग्दा दिपेन्द्रले जेठानमाथि समेत हमला गर्ने चेष्टा गरेका हृदयशले बताए ।

कुटपीटको तीन दिनसम्म फोन गरेर माइतीमै बोलाई छलफल गराउन खोज्दा समेत वेवास्ता गरेकोले शुक्रबार उजुरी दर्ता गर्न आउनु र महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु हुनु संयोग मात्र हो ।

उजुरी दिन कै लागि चार घण्टाको पैदल बाटो हिँडेर सदरमुकाम पुग्न लाग्दा गणेशचोकबाट पुरानोबजार जाँदै गरेको महिला हिंसा विरुद्धको १६ दिने अभियानको जुलुस समीक्षाले देखिन् । एसएलसी उत्तीर्ण गरी सकेकी समीक्षाले जुलुस, महिला अधिकारका प्लेकार्ड र नारा सुनेर जुलुसलाई टोलाएर हेरिन् ।

लिखित उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुग्दा प्रहरीकै अघिल्तिर देवकोटा चोकमा भएको औपचारिक कार्यक्रमको एक छेउमा उभिएकी समीक्षाले दैलेख क्षेत्र नं। १ सांसद अम्मरबहादुर थापाको भाषण सुनिन् ‘महिला पुरुष एक रथाका दुई पांग्रा हुन् ।’ प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको भनाई पनि घत लाग्यो ‘महिलाको इज्जत हुने घरमा शान्ति हुन्छ ।’

उनले उजुरीमा ‘मेरो श्रीमानले विवाह गरेको दुई महिनादेखि नै कुटपीट गर्ने गर्नुभएको छ’ भनि पदावली राखेकी छिन् । यो पदावलीले श्रीमानप्रति सम्मान देखिन्छ । महिला अधिकारकर्मी पार्वती बिशुन्के, निर्मला खड्का लगायतको मन्तव्यले पनि उनलाई महिला अधिकारको माहोल बनेकै बेला उजुरी परेछ, न्याय अवश्य पाइएला भन्ने आशा जगाएको उनले बताइन् । उज्यालो