लुम्बिनी, ११ मंसिर । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै ठूलो थान्का आजदेखि प्रदर्शनीका लागि राखिएको छ । आज र भोलि दुई दिनका लागि विश्वकै ठूलो ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ भएको थान्का प्रदर्शनीका लागि लुम्बिनीमा राखिएको हो ।

8e1d1ca5dff526626721ebdd9a7dee92नेपाल-जापान कूटनीतिक सम्बन्धको ६० वर्ष पूरा गरेको अवसरमा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै ठूलो थान्का प्रदर्शनीका लागि राखिएको हो । थान्का लुम्बिनीको हेलिप्याडमा प्रदर्शनीका लागि राखिएको छ । थान्का प्रदर्शनी कार्यक्रममा धर्म स्वामी बुद्ध विहार लुम्बिनीका प्रमुख धर्मगुरु टाक्य विष्ट लामाले विश्व शान्तिको कामना गरे ।

थान्का प्रदर्शनी कार्यक्रममा थान्का बनाउन विशेष भूमिका खेल्ने नेपाल बौद्ध संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकाली र एनपिओ एम २१ नेटवर्क जापानका अध्यक्ष यासुतादा कातागिरीले उक्त थान्का नेपालमै बुद्ध जन्मस्थल लुम्बिनीमा राख्न पहल गर्न नेपाल सरकारसँग आग्रह गरे । उनीहरुले त्यसका लागि आफूहरुका तर्फबाट पनि पहल भइरहेको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले लुम्बिनीमा थान्का राख्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै त्यसका लागि सरोकारवाला निकायलाई अग्रसरता देखाउन आग्रह गरे ।

नेपाल बौद्ध महासङ्घ रुपन्देही तथा प्रदर्शनी मूल व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर गुरुङले बुद्ध जन्मस्थल लुम्बिनीमा उनकै जन्मदेखि समबोधिलाभ, धर्मचक्र प्रवर्तन तथा महापरिनिर्वाणसम्मका घटना उल्लेख भएको थान्का प्रदर्शनी हुनु अत्यन्तै महत्वपूर्ण भएको भन्दै त्यसलाई लुम्बिनीमा राख्नुपर्नेमा जोड दिए ।

प्रदर्शनी व्यवस्थापन समितिका सदस्य कमल थापाले पहिलो दिन करिब ३० हजार जनाद्वारा थान्का अवलोकन भएको जानकारी दिनुभयो । भोलि बिहान १० बजेदेखि ४ बजेसम्म लुम्बिनीमा थान्का प्रदर्शन हुने मूल व्यवस्थापन समितिले जनाएको छ ।