photoदिपक बोहरा , तुलसीपुर १० मंसिर । तुलसीपुर बसपार्कको व्यवस्थापनका लागि निर्माण गरिएको ५० लाखको कम्पाउन्ड (पर्खाल) औचित्यहिन बन्दै गएको छ । निर्माण भएको दुईवर्ष सम्म उपयोग हुन नसकेपछि निर्मित संरचनाहरु अराजक व्यक्तिहरुले ठाँउ ठाँउमा भत्काउन थालिसकेका छन् ।

आसपासका कतिपय स्थानीयहरुका लागि त्यो फोहर फाल्ने नयाँ ठाँउ बनेको छ । यथार्थमा वसपार्कमा अब्यबस्थित रुपमा संचालन भएका ग्यारेजहरुलाई ब्यबस्थापन गर्ने उदेश्यले दुईवर्ष अघि उक्त पर्खाल निर्माण गरिको थियो । तर, संरक्षणको अभावमा पर्खाल जिर्ण बनिसकेको छ र ठाँउ ठाँउमा भत्किसकेको छ । भत्काइएको छ । त्यसैले पर्खाल लगभग अस्तब्यस्थ अवस्तामा पुगेको छ ।

तुलसीपुर नगरपालिकाले ग्यारेज ब्यबस्थापन गर्न कम्पाउण्ड निर्माण गरेको दुईबर्ष बितिसक्दापनि त्यो अझैं प्रयोग विहिन नै छ । नगरपालिकाले ५० लाख रुपैंयाको लागनीमा उक्त कम्पाण्ड निर्माण गरेको थियो । तयारी अवस्थामा रहेको कम्पाउण्ड संचालनमा ल्याउन सरोकारवाला निकायहरुले कुनै ध्यान नदिदा कम्पाउन्ड भत्काउने र क्षतिगर्ने क्रम बढेको स्थानीय शोभा बुढाथोकीले बताइन ।

तर, नगरपालिकाका पदाधिकारीहरु भने पर्खाल प्रयोगमा ल्याउन नसक्नुको कारण क्षेत्रफल कम हुनुले समस्या भएको बताउँछन् । वसपार्कमा ग्यारेज सञ्चालकको संख्याको तुलनामा कम्पाउन्ड लगाइएको क्षेत्र निकै साँघुर र अपुग भएकोले प्रयोगमा ल्याउन समस्या भएको नगरपालिका इञ्जिनियर पवन योगीले बताए । तर, वसपार्कका निवासी राम चन्द्र केसीले प्रमुख दोष नगरपालिकाको नै भएको तर्क गरे ।

दुईवर्ष अघि ५० लाख रुँपैया खर्चेर पर्खाल निर्माण गर्नु भन्दा पहिले त्यो कुराको हेक्का नराख्नु र आज आएर कम्पाउन्ड सानो भयो भन्नु भद्दा मजाक हुने उनले बताए । तर, उनले अटोव्यवसायीहरुको समेत मौन बसेको देख्दा आस्चर्य व्यक्त गरे । उनले भने ‘यो त माल पाएर पनि चाल नपाउने जस्तै भयो , यस्तै अवस्था कायमै रहेमा वसपार्क व्यवस्थित गर्ने सपना सपनामै सिमित हुन सक्छ ।’

तुलसीपुरको वसपार्कमा ग्यारेज सञ्चालन गर्दै आएका रुपलाल विकले वसपार्क क्षेत्रमा रहेका ग्यारेजलाई व्यवस्थापन छिटो भन्दा छिटो गरिनुपर्ने बताए । बसपार्कमै यत्रतत्र रहेका वसपार्कले वसपार्कको शोभा घटाएको , प्रदुशन बढाएको र व्यवसाय समेत व्यवस्थित हुन नसकेको बताए । बिकले थपे ‘ चोरपनि त्यँही जान्छन् , फटापनि त्यँही अनि लागु औषधका कुलतमा फसेकाहरु पनि त्यँही आउँछन् र यसले हामीलाई समेत असुरक्षित बनाएको छ ।’

ग्यारेज सञ्चालन क्षेत्र वरपर बिग्रेका थोत्रा गाडि, कवाडका बिभिन्न भागहरु राख्दा बसपार्कको शोभा घटेको बिकले बताए । त्यस्तै आसपासमा अब्यबस्थित रुपमा सञ्चालनमा आएका ढेब्लीले गर्दा यातायातका साधन मोड्न र काम गर्न समेत समस्या हुने गरेको उनले गुनासो पोखे । बिकले ग्यारेज क्षेत्रमा जहाँ मनपर्यो त्यँही कबाड थुपार्ने , स्थानीयहरुले समेत लुकेर फोहर फाल्ने गरेकोले कम्पाउन्डको औचित्य पुष्टि हुन नसकेको बताए ।

नगरपालिकाले कम्पाउण्ड भित्र एउटा ग्यारेज सञ्चालन गर्नका लागि साढे तीन मिटर मात्रै दिने दुईवर्ष अघि मोटामोटी निर्णय गरेको थियो । नगरपालिकाले प्रदान गर्ने भनिएको उक्त क्षेत्र आफुहरुलाई प्रयाप्त नहुने समेत विकले बताए । उनले भने ‘ एउटा ग्यारेज कम्तिमापनि दुईवटा गाडि अटाउन सक्ने हुनुपर्छ, तर, नगरपालिकाले दिने भनेको साढे तिन मिटरले दुई वटा गाडि अटाउन सक्दैनन्, यस्ले गर्दा हामीलाई काम गर्न समस्या हुनेदेखिन्छ।’ एउटा गाडि बनाउन १५ दिन देखि महिना दिन समेत लाग्ने भएकोले त्यतिन्जेल सम्म अर्को गाडि राख्ने ठाँउ हुनु अनिवार्य रहेकोले नगरपालिकाको निर्णय व्यवहारिक नभएकोले त्यो सच्चाउन आवश्यक रहेको उनको तर्क थियो ।

क्षेत्रफल थोरै भएर अप्ठेरो भयो : इञ्जिनियर योगी
तुलसीपुर नगरपालिकाले भने कम्पाण्डको क्षमता भन्दा ग्यारेज ब्यबसायी धेरै भएकाले सञ्चालन गर्न समस्या भएको बताएको छ । तुलसीपुर नगरपालिकाका ईन्जिनियर पवन कुमार योगीले भने ‘ कम्पाउण्डको क्षमता थोरै हुनु, त, पसल सञ्चालन गर्नेको संख्या धेरै हुनुले कस्लाई दिने कस्लाई नदिने भन्ने समस्या उत्पन्न भएको छ ।’

ईन्जिनियर योगीका अनुसार अहिले तुलसीपुरको वसपार्कमा मात्रै दुई सय भन्दा बढी ग्यारेज दर्ता भएर संचालनमा आएको र केही ग्यारेज दर्ता बिना नै सञ्चालनमा आएको हुँदा क्षेत्रफल प्रयाप्त नभएकोले प्रयोगमा ल्याउन अप्ठेरो परेको बताए । वसपार्कका ग्यारेज संचालकको संख्या निर्माण भएको कम्पाउडको क्षमता भन्दा दुई गुना बढी रहेको उनले बताए ।

कम्पाउण्डको क्षमता एक सय तीनवटा ग्यारेज सञ्चालनको मात्रै रहेको तर, माग दोब्बर बढी भएकोले कस्लाई दिने कस्लाई नदिने भन्ने समस्या उत्पन्न भएको उनले अप्ठेरो सुनाए ।