तुलसीपुर १० मंसिर । दाङमा औलो र डेंगु रोगका संक्रमितहरु बढ्दै जान थाले पछि जिल्ला जनस्वास्थ्य कार्यालयले रोगबाट बच्न सचेतना अभियान सुरु गरेको छ । लामखुट्टेको टोकाईबाट सर्ने यी दुई रोगबाट बच्नका लागि नागरिकहरुलाई सचेत बनाउने अभियान भैरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
बितेको चार महिनामा औलोका २० जना विरामी अस्पतालमा पुगेका छन भने कार्तिक र मंसिरमा ८ जनामा डेंगु रोगको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका औलो तथा डेंगु स्रोत व्यक्ति कमल चन्दले जानकारी दिए । सवा एक महिनाको अन्तरालमा तुलसीपुरमा ३, लमहीमा २, पुरन्धारा, गढवा र बेलामा एक एक जनामा डेंगुको संक्रमण देखिएको छ ।
यी रोगबाट बच्नका लागि नागरिकहरुले गर्न सक्ने उपायहरुका बारेमा जानकारी दिने गरी कार्यालयले सम्भाबित र प्रभाबित क्षेत्रमा सचेतना अभियानलाई जारी राखेको जनाएको छ । यी रोगबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्ने, पानी जम्ने खाडलहरु पूर्ने, भाँडाहरुमा पानी जम्न नदिने, पानीका ट्ंकीहरुको ढक्कन लगाउने र सुत्ने बेला झुलको प्रयोग गर्नुपर्ने ध्यान दिन स्रोत व्यक्ति चन्दले आग्रह गरेका छन ।
रोगको संक्रमणलाई घटाउन जनस्वास्थ्य कार्यालउले देउखुरी र तुलसीपुरमा लामखुट्टेका बासस्थानमा औषधी छर्किने गरिएको छ । यसैगरी जनस्वास्थ्य कार्यालयले शुक्रबार घोराहीको तुलसीपुर चोकमा समुदायमा लुकेर तथा डेंगु रोगीको खोजी अभियान भन्दै नागरिकहरुलाई सचेत पार्ने कार्य गरेको छ ।
नागरिकहरुलाई रोगबाट बच्ने उपयाका बारेमा जानकारी दिन सचेतना पर्चाहरु बाँढ्ने कार्य गरिएको स्रोत व्यक्ति चन्दले जानकारी दिए भने जिल्लाका सरोकारवालाहरु सँग पनि रोग नियन्त्रणका बिषयमा छलफल गर्ने योजना भएको कार्यालयले जनाएको छ ।
