मंसीर ७, सुकेटार, ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणका सहयात्री दलहरुबीचको सहमतिमा संविधान संशोधनका लागि सरकारले प्रयास गरिरहेको बताउनु भएको छ ।
कञ्चनजंगा हिमाल आरोहणको ६० वर्ष पुरा भएको अवसरमा ताप्लेजुङको सुकेटारमा आयोजित कञ्चनजंगा हिरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो भूकम्पपछि सत्तापक्ष प्रतिपक्ष नभनी हामीले राष्ट्रिय सहमति कायम गरेर उद्दार र राहतको काम सम्पन्न ग¥यौं ।
राजनीतिक सहमतिकै आधारमा चुनौतिपूर्ण ठानिएको संविधान निर्माणको कार्यभार पुरा ग¥यौं । संविधान त बनेको छ । तर, यसको स्वीकार्यता फराकिलो पारेर सिंगो राष्ट्रले स्वामित्व लिने कार्यभार अझै बाँकी छ । तसर्थ, संविधान संशोधन गरी मुलूकलाई निर्वाचनको दिशामा लैजान सरकारले राजनीतिक सहमतिको प्रयास गरिरहेको छ ।’
प्रधानमन्त्रीले कञ्चनजंगा क्षेत्र विकासका असीमित सम्भावनाहरुले भरिपूर्ण रहेको भन्दै आरोहण पर्यटनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग हुने विश्वास दिलाउनु भयो । महोत्सवमा मन्त्री सूर्यमान गुरुङ, व्यवस्थापिका—संसद विकास समितिका सभापति रबिन्द्र अधिकारी लगायतका वक्ताहरुले पूर्वाञ्चलको विकासका सम्भावना र हिरक महोत्सवको महत्वबारे चर्चा गर्नुभएको थियो ।
