prayatak

कुसुम बिक , बर्दिया ४ मंसिर ।  चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटक ४२ प्रतिशतले बढेका छन् । असोजसम्ममा आन्तरिक र बाह्य गरी १२ सय २१ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन ।

 यसमध्ये सार्क मुलुकका २४ र विदेशी ३ सय ८८ जना छन् । गत वर्षको सोही अवधिमा ७ सय १० जनाले निकुञ्ज अवलोकन गरेका थिए । पर्यटकको आगमन बढेसँगै निकुञ्जको राजस्वमा समेत वृद्धि भएकोे छ । चालू आवको असोज मसान्तसम्ममा ३३ लाख २० हजार रुपैयाँ संकलन भएको निकुञ्जले जनाएको छ । विश्वका दुर्लभ वन्यजन्तुका रूपमा सूचीकृत हात्ती, एक सिंगे गैंडा, पाटे बाघलगायत संरक्षित वन्यजन्तुको संख्यामा वृद्धि हुनुका साथै सहजै देख्न सकिने भएपछि निकुञ्जमा पर्यटक आगमन बढेको बताइएको छ ।

तराईकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रको रूपमा स्थापित निकुञ्जको प्राकृतिक सुन्दरता, बबई उपत्यकाको मनमोहक दृश्य, कर्णाली नदीमा ¥याफ्टिङ गर्नुका साथै नजिकैबाट डल्फिन नियाल्न सकिने भएकोले पर्यटक आकर्षित भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । खासगरी पछिल्लो समय बाघ हेर्न आउने विदेशी पर्यटक बढिरहेको उनको भनाइ छ ।

निकुञ्जमा पदयात्रा, हात्ती सफारी र जंगल सफारीबाट निकुञ्जको अवलोकन गर्न सकिन्छ । गत वर्ष नेपाल भ्रमणमा आएका बेलायती राजकुमार ह्यारीको रोजाइमा बर्दिया निकुञ्ज परेपछि पर्यटक आकर्षित भएका हुन् । ह्यारी आएपछि यहाँको जैविक विविधता, पर्यापर्यटन, वन्यजन्तु र राष्ट्रिय निकुञ्ज प्रचारप्रसार भएर अन्तरराष्ट्रियकरण भएपछि पर्यटक बढ्न थालेको ठाकुरद्वाराका होटल व्यवसायीहरू बताउँछन् ।

पर्यटक आगमन बढेसँगै निकुञ्ज आसपासका होटलमा समेत चहलपहल बढेको छ । खाली होटल खचाखच भरिन थालेपछि होटल व्यवसायी उत्साहित भएका छन् । बर्दियामा साना–ठूला गरी २२ वटा होटल सञ्चालनमा छन् । यी होटलमा करिब ३५ करोड रुपैयाँ लगानी छ ।