दीपबहादुर घर्ती
जाजरकोट, २ मंसिर । फोटो सहितको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्नका लागि जिल्लाका गाउँ–गाउँमा शिवीर सञ्चालन गरिने भएको छ । मतदाता नामावली संकलन तथा अध्यावधिकका लागि जिल्ला निर्वाचन कार्यालय जाजरकोटले गाउँ–गाउँमा शिवीर सञ्चालन गर्ने भएको हो ।
मंसिर १० गते देखि सञ्चालन हुने फोटो सहितको मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यक्रम पुस ८ गते सम्म सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । जिल्लाका २६ वटा गाउँ विकास समिति र एक नगरपालिकाका संयुक्त वडाहरुमा फोटो सहितको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्नका लागि कार्यालयले ४ वटा टोली एकै समयमा परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए ।
जिल्ला भर एक साथ परिचालन गरिने टोलीहरुमा सिमा, थालारैकर, जुगाथाचौर, साल्मा, दशेरा, सुवानाउली, मजकोट, दह, कोर्ताङ्ग र गर्खाकोटमा एउटा टोली रहने छ भने, रोकायगाउँ, नायकवाडा, सक्ला, लह, डाडाँगाउँ, खगेनकोट, रग्दा र भगवतिमा अर्को टिम रहने निर्वाचन अधिकारी वुढाथोकीले वताए । वुढाथोकीले दिएको जानकारी अनुसार कार्कीगाउँ, झाप्रा, पजारु, टालेगाउँ, अर्छानी, पैंक, ढिमे र रामिडाडाँमा एउटा टोली रहनेछ भने, जगतिपुर, पुन्मा, भुर र खलंगामा अर्को टोली रहनेछ । टोलीले प्रत्येक गाविसमा दुई दिनको समय लगाएर फोटो सहितको मतदाता नामावली संकलन गर्नुका साथै नामावली अध्यावधिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी स्थानिय निर्वाचनलाई लक्षित गरि संकलन गर्न लागिएको मतदाता नामावली संकलनमा १६ बर्ष उम्मेर पुगेका महिला तथा पुरुषहरुलाई समावेश गरिने निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । १६ बर्ष उम्मेर पुगेका नागरिकहरुको मतदाता नामावली संकलन गरिएता पनि निर्वाचनमा मतदान गर्न पाउने अधिकार संविधानले १८ बर्ष भन्दा माथिका नागरिकलाई मात्र सुनिश्चि गरिएको निर्वाचन अधिकारी हरिबहादुर वुढाथोकीले जानकारी दिए ।
७७ हजार ८ सय २७ मतदाता संख्या रहेको जाजरकोटमा अझै मतदाता नामावली संकलन गर्न झण्डै १० हजार मतदाता छुटेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर वुढाथोकीको भनाई रहेको छ । कुनै पनि नागरिक मताधिकारवाट बन्चित हुनु भनेको लोकतन्त्रको सौन्दर्यतामा कालो धव्बा लाग्नु सरह भएको वुढाथाकीको भनाई रहेको छ । बुढाथोकीले विहिवार जिल्ला सदरमुकाम खलंगामा आयोजित फोटो सहितको मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यक्रमको अन्तरक्रिया कार्यक्रमा यस्तो वताएका हुन् ।
जिल्लामा प्रत्येक बर्ष फोटो सहितको मतदाता नामावली संकलन तथा अध्यावधिक भई रहेको भएता पनि यतिखेर गरिने मतदाता नामावली संकलनले निक्कै ठुलो महत्व राख्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वताए । फोटो सहितको मतदाता नामावली संकलन तथा अध्यावधिक व्यबस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ गौतमले नामावली संकलन कार्यमा जिल्लामा क्रियाशिल सबै राजनैतिक दलहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
