दीपबहादुर घर्ती
जाजरकोट, २ मंसिर । जिल्लाको शैक्षिक विकासका लागि जाजरकोटमा विभिन्न विधी, उपाएहरु अवलम्वन गरिएको छ । विद्यार्थीहरुको शिक्षण सिकाईमा गुणात्मक उपलब्धि हासिल गर्न जिल्लामा विभिन्न उपाएहरु अपनाईएको हो ।
साक्षर जिल्ला घोषणा भईसकेको जाजरकोटमा शैक्षिक सुधार बर्ष पनि घोषणा गरिएको छ । यस शैक्षिक सुधार बर्षमा गुणात्मक शैक्षिक विकासका लागि जिल्लाका सवै विद्यालयमा बुक कर्नर स्थापना गर्नुका साथै सवै विद्यार्थीहरुको घर–घरमा पढाई कुना निर्माण गर्ने जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ ।
शिक्षक, विद्यार्थी र अविभावक सवैको ब्यबहारमा परिवर्तन ल्याउनका लागि विद्यालयमा बुक कर्नर र घर–घरमा पढाई कुना वनाउनु पर्ने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले वताए । शिक्षकले पढाउनु पर्छ भन्ने वानीको विकास हुन जरुरी छ भने, विद्यार्थीले पढ्नु पर्छ र अविभावकले पढ्ने वातावरण श्रृजना गरिदिनु पर्छ भन्ने वानीको विकास हुन जरुरी भएको जिल्ला शिक्षा अधिकारी सिंहको भनाई रहेको छ ।
विद्यालयमा बुक कर्नर र घर–घरमा पढाई कुनाको कार्यक्रमले शिक्षक, विद्यार्थी र अविभावक सबैलाई जिम्मेवार वनाउने सिंहको दावी छ । जिल्लामा अव सवैको पहँुचमा विद्यालय आवश्यक नभएर गुणस्तर शिक्षाका लागि विद्यालय, भौतिक पुर्वाधार, जनशक्ति, शैक्षिक सामाग्रीलाई केन्द्रिकृत गर्नमा जोड दिनु पर्ने सिंहले वताए ।
२०७२ फागुण २८ गते देशकै २० औं साक्षर जिल्ला घोषणा भएको जाजरकोटको शैक्षिक विकासका लागि २०७३ लाई शैक्षिक सुधार बर्ष घोषणा गरिएको छ भने, शैक्षिक सुधारका लागि जिल्लामा प्रअ सम्मेलन सम्पन्न भएको छ । जिल्लाको शैक्षिक रणनीति निर्माण प्रक्रियामा अगाडि वढिरको छ भने, शैक्षिक रेडियो कार्यक्रम सञ्चालनमा ल्याईएको छ । श्रोत केन्द्रलाई शैक्षिक सुधार केन्द्रमा परिणत गरिएको छ । विद्यालयमा बुक कर्नर स्थापना र घरमा पढाई कुना निर्माण गरिने भएको छ । यसै बर्ष विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने कार्यक्रक रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
सामुदायिक तथा संस्थागतगरि जम्मा ४ सय ५१ विद्यालयमा ७२ हजार विद्यार्थीहरुले अध्ययन गरिरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ७२ हजार विद्यार्थी संख्यालाई अध्यापन गराउने शिक्षकहरुको दरवन्दी १३ सय ५१ जनाको रहेको छ भने, विद्यार्थी संख्याको अनुपातमा ७ सय ४ शिक्षक दरवन्दी अझै पनि जिल्लामा अभाव देखिएको छ ।
साक्षर जिल्ला घोषणा भई जिल्लाको शैक्षिक विकासको अभियान चलिरहेको जाजरकोटमा शिक्षा विभागले विद्यालय उम्मेर समुहका ५ हजार ४ सय ७ जना वालवालिकाहरु अझै पनि विद्यालय पहँुच भन्दा वाहिर रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
सिकाईका लागि शिक्षण परियोजनाले जिल्लाका केहि सिमित विद्यालयहरुमा बुक कर्नर र घरमा पढाई कुना निर्माणको अवधारणालाई व्यवहारिक रुपमा लागु गरि सकेको छ ।
