पाँचथर, २ मंसिर । एक महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई १२ वर्षपछि पक्राउ गरिएको छ । प्रहरीले पाँचथर फलैंचा–७ का मोहन भनिने विकास राईलाई पक्राउ गरेको हो ।

pakaru२०६१ साल भदौ १८ गते सोही स्थान बस्ने २० वर्षीया मनिषा बेघाको टाउकोमा चोट लागेको अवस्थामा फलैंचाकै सिंहदेवी जङ्गलमा शव फेला परेको थियो । मृतक मनिषाको शव फेला पर्नुअघि २०६१ भदौ ८ गते मनिषा र विकास बीचको प्रेम सम्बन्धलाई लिएर गाउँमा चर्चा चलेको थियो ।

पक्राउ परेका विकासलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखिएको छ । उनलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ ।