काठमाडौं, २ मंसिर । मधेशी मोर्चाका नेता एवम् तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अंगको प्रमुख बनाउने माग मोर्चाको नभएको प्रष्ट पारेका छन् ।

mahendra-ray-yadav-624x350बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता यादवले अंगीकृत नागरिकलाई देशको कार्यकारी प्रमुख, सुरक्षा अंगको प्रमुख र संवैधानिक अंगको प्रमुख बनाउने माग मोर्चाले गर्यो भनेर अफवाह फैलाईएको बताए । उनले थपे,‘हाम्रो आन्दोलनलाई कमजोर पार्न र एकतालाई तोड्नको लागि यो अफवाह फैलाईएको हो, यो कुरा हामीलाई मान्य छैन ।’ उनले यस्तो अफवाह फैलाएर मधेशीलाई बद्नाम गराउन षडयन्त्र गरिएको समेत आरोप लगाए । यद्धपी उनले अन्तरिम संविधान अनुसार नै नागरिकताको विवाद सम्बोधन हुनुपर्ने बताए ।

यादवले संविधान संशोधन अनिवार्य आवश्यकत्ता रहेको उल्लेख गर्दै आफूहरुले अघि सारेको २६ बुँदे मागको आधारमा संशोधन हुनुपर्ने जिकिर गरे । उनले आफूहरुले भूमि र पहिचानको लागि संघर्ष गरेको भन्दै आफूहरुले भनेजस्तै गरि संविधान संशोधनमार्फत मागहरु पूरा हुनुपर्ने जिकिर गरे ।

यादवले गठबन्धनले दिएको १५ दिने म्यादभित्रपनि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी दिए । उनले विगतमा धेरै पटक उधारोमा सम्झौता भएकोले ती सम्झौताहरु कार्यान्वयन नभएकोले यसपटक तीन बुँदे सम्झौता पूरा गराएरै छोड्ने स्पष्ट पारे ।

सत्तारुढ दल नेपाली काँग्रेसका नेता फरमुल्लाह मन्सुरले असन्तुष्टहरुको मागलाई सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने भएकोले सबै दलहरु यसमा सहमत हुनुपर्ने बताए ।