लमही ३० कात्तिक । लमहीमा रहेको श्रीराम डिजल्समा आगलागी हुदा दुई करोड ५२ लाख बढीको क्षती भएको छ । वडा प्रहरी कार्यालय लमहीले पम्पका सञ्चालक, स्थानीय सर्वसाधारण नागरिक संगको सोधपुछपछि मोवील लुब्रीकेन्स, पेट्रोल, डिजल ट्यांकी, फर्नीचर, नगद गरी दुई करोड ५२ लाख ४४ हजारको क्षती भएको जनाएको हो ।
आगोले पम्पको स्टोर रुम, कार्यालय भवन, ट्यांकीमा क्षती पुगेको छ । पम्पको कागजपत्र, विलहरु पनि जलेका छन् । सोमबार राती ११ बजे पम्पमा आगो एक्काली लागेपछि आगो नियन्त्रण गर्ने दमकल नहुदा ठुलो क्षती भएको हो । वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय अर्जुन खोला र नेपाली सेनाको तारा दल गण अर्जुनखोलाको विशेष टोलीले आगो नियन्त्रण गर्न खटीएको थियो ।
सर्वसाधारण सहीत सुरक्षा निकायको टोलीले आगो नियन्त्रणमा लिएको केही समयपछि घोराही र तुलसीपुरबाट दमकल आईपुग्यो र वाँकी रहेको आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको हो । आगो विद्युत सर्ट हुदा लागेको हुन सक्ने अनुमान गरिएको छ ।