काठमाडौं, ३० कार्तिक । कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर राणा नेतृत्वको राप्रपाबीच पार्टी एकता हुने भएको छ ।
आज पार्टी एकतासम्बन्धी समझदारीपत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले हस्ताक्षर गरेका छन् । आगामी मंसिर ६ गते काठमाडौंमा संयुक्त रुपमा एकता घोषणासभाको आयोजना गरी पार्टी एकीकरण हुने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।
एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी हुनेछ भने पार्टी अध्यक्ष र संसदीय दलको कमल थापा हुने छन् । यस्तै राष्ट्रिय अध्यक्षको जिम्मेवारी राणाले समाल्नेछन् । गत साउन २५ गते दुई पार्टीबीच एकता गर्ने तयार गरिएपछि अन्तिम समयमा आएर भाँडिएको थियो ।











