दिपक बोहरा /तुलसीपुर ३० कात्तिक । लामखुट्टेको टोकाईबाट मानिशमा सर्ने डेँगु रोग परिक्षण गर्न दाङमा किट भित्रिएको छ । दाङमा डेंगु संक्रमण हुनेको संख्या थपिदै गएपछि परिक्षण गर्ने आरडिटि किट दाङ ल्याईएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । किट आएसंगै अब दाङ्को घोराही र तुलसीपुरबाट डेँगु रोग परिक्षण गर्न सकिने चन्दले जानकारी दिनुभयो ।
स्वास्थ्य बिभागले दाङका लागि ३० वटा किट पठाएको लामखुट्टेरोग फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । उक्त किट घोराहीको जनस्वास्थ्य कार्यालय र राप्ती उपक्षेत्रीय अस्पताल तथा तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा बितरण गरिएको छ । फोकल पर्सन चन्दका अनुसार राप्ती अञ्चल अस्पतालमा १० , उपक्षेत्रीयमा १० र जनस्वास्थ्य कार्यालयमा १० वटा किट राखिएको हो ।
यस अघि दाङ्मा डेँगु रोग परिक्षणका लागि किट उपलब्ध नहुँदा डेँगु रोग परिक्षण गर्न नेपालगंज तथा काठमडांै जानुपर्ने बाध्यता रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य अधिकृत जनार्दन गौतमले जानकारी दिनुभयो । दाङ्मा संक्रमण थपिन सक्ने भन्दै उक्त किट दाङ ल्याउन पहल गरिएको हो । अहिले सम्म दाङका ६ जनामा डेँगु संक्रमण देखिएको छ ।