काठमाडौं, २८ कात्तिक । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले चैतभित्र स्थानीय निकायको निर्वाचन गराउने बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै निधिले सरकारले निर्वाचनसम्बन्धी विधेयक छिटो पारित गरेर निर्वाचन गर्न चाहेको बताउनुभयो ।
‘अहिलेको सरकार छिटो विधेयक पारित गरेर निर्वाचन गर्न चाहन्छ, यसमा कुनै भ्रम नराखे हुन्छ, भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत लोकतान्त्रिक पद्धतिलाई बलियो पार्न खोजिएको छ,’ उहाँले भन्नुभयो– ‘आगामी चैत महिनामा स्थानीय तह तथा २०७४ साल माघभित्र बाँकी दुई वटा निर्वाचन गराउने कार्ययोजना रहेको छ, छिटो निर्वाचन कानुन निर्माण गरौँ, संविधान कार्यान्वयन गर्न संविधान संशोधन गर्न आवश्यक छ, संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन हुन्छ ।’
