प्यूठान २५ कार्तिक । पाँच नम्बर प्रदेशमा राखिएको प्यूठान जिल्लालाई ६ नम्बर प्रदेशमा राख्ने चर्चाले प्यूठानवासीमा आक्रोश बढेको छ । उनीहरुले प्यूठानलाई ६ नम्बर प्रदेशमा सारेर आन्दोलन गर्ने वातावरण नबनाइदिन सरकार र प्रमुख राजनीतिक दलहरुलाई अनुरोध गरेका छन् ।
प्यूठानबासीले बिहीबार प्रदेश परिवर्तन सम्बन्धि जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम नै आयोजना गरे । उनीहरुले जिल्लामा क्रियाशील सम्पूर्ण राजनैतिक दलका नेताहरुले आ-आफ्नो ठाउँबाट सरकारलाई खबरदारी गर्ने निर्णयसमेत गरेका छन् ।
कार्यक्रममा बिभिन्न राजनैतिक दल, कार्यालय तथा संघसंस्थाका प्रमुख र स्थानीय प्रतिनिधिहरुको सहभागीता थियो । उनीहरुले कुनै पनि हालतमा प्यूठान जिल्लालाई प्रदेश नम्बर ५ बाट छुट्याउन नहुने बताए । ऐतिहासिक सम्बन्ध, व्यापार व्यावसाय, पर्यटन प्रवर्द्धन लगायत सबै हिसाबले प्यूठान जिल्ला प्रदेश नम्बर ५ मै उचित भएको उनीहरुको भनाइ छ ।
नेपाली कांग्रेसका जिल्ला अध्यक्ष अमर भण्डारीले प्यूठान र रोल्पालाई प्रदेश नम्बर ५ मै कायम राख्न जस्तोसुकै आन्दोलन गर्न नेपाली कांग्रेस तयार रहेको बताए ।
प्रमुख दलहरुले प्यूठान र रोल्पालाई प्रदेशनम्बर ६ मा राख्ने तयारी गरेको प्यूठानबासीको ठहर छ । सुरुदेखि नै शान्त रहेको प्यूठानलाई प्रदेश नम्बर ६ मा मिसाउने कुरा गरेर सरकारले आन्दोलनको बिउ रोप्न खोजेको उनीहरुको आरोप छ । त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष तुल्सी रिजालले प्यूठानवासी जनताको हित हुने निर्णय नगर्न सरकारलाई चेतावनी दिए ।
नेकपा माओवादी केन्द्रका सहसंयोजक कृष्ण अधिकारीले सीमांकन हेरफेरको तयारीको विरोधमा काठमाडौंमा डेलिगेशन जाने बताए । ‘मधेसी जनतालाई खुसी पार्ने बहानामा सरकारले जनताको धारणा विपरित काम गर्न हुँदैन,’ नेकपा माओवादी केन्द्रका सहसंयोजक कृष्ण अधिकारीले भने, ‘हावा नलागेर पात हल्लिँदैन । त्यसकारण हाम्रो पार्टीले प्रधानमन्त्रीलाई तत्कालै ज्ञापन पत्र बुझाउने र रोल्पा र प्यूठानको संयुक्त टिम काठमाडौंमा डेलिगेशन जाने सल्लाहसमेत भएको छ ।’
अनलाइनखबरबाट