काठमाडौं, २४ कार्तिक । नक्कली नोटको तस्कर बढेको भन्दै भारतले गए रातिदेखि भारु पाँच सय र एक हजारको चालु नोटमा प्रतिबन्ध लगायो । भारु नोटमा प्रतिवन्धित भएको २४ घण्टा नवित्तदै नेपाली अर्थतन्त्रमा हलचल मचिएको छ ।
नेपाली बजारमा कारोवार हुने भारु कतै अब चल्ने होइनन् कि भन्ने धेरैमा परेको छ । पाँच सय र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा परेको छ ।
भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवं भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर परेको छ । उनीहरुले आफूले कमाएको पैसा नेपालमा पठाउन समस्या परेको छ भने नेपालमा रहेको अरवौ भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको छ ।
भारतसँग एक हजार आठ सय किलोमिटर खुला सीमा क्षेत्रमा बस्ने नेपालीसँग रहेका भारु नचल्ने भएपछि त्यहाँका स्थानीयहरु झनै समस्यामा परेका छन् । यस्तो समस्या देखिपनि भारतले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा साट्न सक्ने भनेको छ । तर त्यसरी साटफेर गर्नका लागि पनि नेपालीका लागि जटिल हुने देखिएको छ ।
नेपालीका लागि भारतले राहदानी र स्थायी लेखा नम्बर (प्यान) सहित उक्त दरका नोट साट्न सक्ने प्रावधान राखेको छ । धेरै नेपालीहरु रोजगारका लागि भारत जाने गरेका छन् उनीहरुलाई भारतको यो निर्णयले झनै ठूलो असर परेको छ ।
यता नेपाल राष्ट्र बैंकले आजै निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न भनेको छ । त्यसैगरी भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको छ ।
