केशरमान बिसी
दाङ , २१ कार्तिक । केही बर्ष अगाडी फोहोरको डंगुरले भरिएको घोराहीको तत्कालिन गणेशहल रोड वाईसीएल नेपालको पहल तथा स्थानिय बासिन्दाको सक्रियताले हाल आएर सुन्दर , शान्त र फराकिलो न्युरोडले परिचित छ । दाङ जिल्लाको सदरमुकाम घोराहीको मुटु जस्तै मानिने न्युरोडमा घोराही नगरपालीकाले बनाएको ग्रिन बेल्टले झनै यहाँको प्राकृतिक सौन्दर्यता लाइ मनोरम र आकर्षक बनाएको थियो ।
तर हाल आएर घोराही नगरपालीकाले निजि मोबाइल कम्पनी लाइ बिज्ञापन टाँस्ने स्थानको रुपमा भाडामा दिएकाले यहाँको प्राकृतिक सौन्दर्यता बिग्रिएकोछ । घोराही नगरपालीकाले आकृती एडभर्टाइजिङ्ग नामक बिज्ञापन एजेन्सी मार्फत लेनोभो मोबाइल कम्पनीलाई एक बर्ष सम्मका लागि भाडामा दिएपछि यहाँ को प्राकृतिक स्वरुप कुरुप भएको हो ।
एकातिर घोराही नगरपालीकाले हरित नगरको रुपमा बिकास गर्न हाल सम्म झन्डै ६२ लाख बजेट खन्याएको छ भने अर्को तिर हरित नगर लाइ चुनौती दिदै बाताबरणलाई प्रदुषण गर्ने खालका प्रचार सामग्री टाँस्नुले हरित नगरको नाममा आउने बजेट बालुवामा पानी खन्याए झैँ भएको छ ।
आर्थिक बर्ष २०६८ / ०६९ देखि लगातार नेपालका उत्कृष्ट नगरपालीकाको रुपमा चिनिदै आएको घोराही नगरपालीकाले यहाँ को ग्रिन बेल्ट एक लाख रुपैंयामा एक वर्ष सम्मका लागि भाडामा दिएको स्वीकार गर्छन घोराही नगरपालिकाका सामाजिक बिकाश अधिकृत सुबोध रेग्मी ।
घोराहीको मुटुनै मानिने यो न्युरोडमा ब्यापारिक प्रयोजनका लागि मोबाइल कम्पनीको बिज्ञापन राख्नु भन्दा दाङका चिनारी झल्कने सांस्कृतिक तथा पर्यटकीय स्थलका तस्वीर राखेर दाङ आउने आन्तरिक तथा बाह्य पर्यटक हरुलाई दाङका रमणीय स्थलहरुको चिनारी दिदा राम्रो हुन्थ्यो भन्छन सरसफाई पत्रकार मंचका अधक्ष्य गोबिन्द खड्का ।
विश्वका कतिपय राष्ट्रमा बिधुतको पोलमा प्रचार सामाग्री राखेमा जेल सम्म जाने खालको कानुन भएपनि नेपालमा यसको कुनै प्रबाह नहुनु आफैमा उपयुक्त होइन । झनै हरित नगर निर्माणको महा यात्रामा लागेको घोराही नगरपालीकाले आफ्नै योजना लाइ चुनौती दिने खालका राता, सेता, काला, निला रंगका प्रचार सामाग्री राख्नका लागि भाडामा दिनु आफैमा चुनौतीपूर्ण छ ।
दाङ आउने आन्तरिक तथा बाह्य पर्यटक हरुलाई दाङको चिनारी देखाउने ठाउँमा निजि कम्पनीहरुका होर्डिङ बोर्ड बाहेक देखाउने कुरा केही रहँदैन । त्यसैले यस्ता ठाउँमा राखिएका होर्डिङ बोर्ड तथा प्रचार समाग्री हटाउन घोराही नगरपालिका आफैमा सक्रिय हुनुपर्ने देखिन्छ ।
