deo-dangदिपक बोहरा / तुलसीपुर २१ कात्तिक । दाङमा अस्थायी शिक्षकको संख्या झण्डै चार सय रहेको छ । नयाँ शिक्षा ऐनले अस्थायी  शिक्षकको ब्यबस्थापनको नीति अख्तियार गरेसंगै जिल्ला शिक्षा कार्यालय दाङले संकलन गरेको तथ्याङ्क अनुसार दाङमा तीन सय ९९ अस्थायी  शिक्षक रहेका छन् ।   जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्क अनुसार दाङमा सबै भन्दा धेरै प्राबि तहमा कार्यरत अस्थायी शिक्षक रहेका छन् ।

दाङका जिल्ला शिक्षा अधिकारी रमेश मैनालीका अनुसार दाङमा २ सय ७२ जना प्राबि तहका शिक्षक छन् । त्यस्तै ७० जना निमाबि तहका र ५७ जना माबि तहका  अस्थायी शिक्षक कार्यरत रहेका छन् । शिक्षा बिभागको तथ्याङ्क अनुसार दाङ सहित राप्तीमा एक हजार ६ सय २५ अस्थायी शिक्षक कार्यरत छन् । जसमध्य प्राबि तहका एक हजार दुई सय २१ , निमाबि तहका दुई सय १९  र माबि तहका सय ८५ शिक्षक कार्यरत रहेको  शिक्षा बिभागको तथ्याङकमा छ ।

बिभागको तथ्याङ्क अनुसार राप्तीको सबै भन्दा बढि अस्थायी शिक्षक दाङमा रहेका छन् । त्यस पछि रोल्पामा सबै भन्दा बढि अस्थाई शिक्षक कार्यरत रहेको बिभागको तथ्याङ्कमा छ । बिभागको तथ्याङक अनुसार रोल्पामा प्राबिमा तीन सय एक निमाबिमा ४१ र माबिमा २२ गरी तीन सय ६४ अस्थायी शिक्षक कार्यरत छन् । त्यस्तै सल्यानमा दुई सय ६५ प्राबि , ३१ निमाबि र ३७ माबिका शिक्षक गरी तीन सय ३३ , रुकुममा प्राबिमा एक सय ९३ , निमाबिमा ३६ र माबिमा २९ गरी दुई सय ५८ र प्युठानमा एक सय ९० प्राबि , ४१ निमाबि र ४० माबिमा गरी दुइ सय ७१ अस्थायी शिक्षक कार्यरत रहेका छन् ।

मध्यपश्चिम अञ्चलमा  ३ हजार ६ सय १० अस्थाई शिक्षक रहेको शिक्षा बिभागको तथ्याङ्कमा छ ।  जस्मध्य प्राबि तहमा २ हजार ६ सय ६५ , निमाबि तहमा ५ सय ३१ र माबिमा  ४ सय १४ अस्थाई शिक्षक रहेको बिभागको तथ्याङ्कले देखाएको छ ।   देशभर अस्थायी शिक्षकको संख्या २६ हजार १ सय १४ रहेको छ । नयाँ शिक्षा ऐनले अस्थायी शिक्षक ब्यवस्थापनको नीति अख्तियार गरेसंगै शिक्षा विभागले तथ्याङ्क संकलन गरेर अद्यावधिक गरेको हो ।

विभागको पछिल्लो तथ्याङ्क अनुसार सबै भन्दा धेरै प्राथमिक विद्यालय तहमा मात्रै १८ हजार ६ सय ८२ अस्थायी शिक्षक छन् ।  यी मध्ये सबै भन्दा धरै अस्थायी शिक्षकको नियुक्ति २०४९ साल पुस २० गते देखि ०६१ साल साउन २१ गते सम्म भएको हो ।  अस्थायी शिक्षक ब्यवस्थापन तीन तहका आधारमा गर्ने ऐनले गरेको ब्यवस्था अनुसार  विभागले यो अवधि सहित २०४९ साल भन्दा अघि र २०६१ साल देखि संविधान जारी हुनु भन्दा अघिल्लो दिन अर्थात २०७२ असोज २ गते सम्म नियुक्त भएका शिक्षकको लगत संकलन गरी अद्यावधिक गरेको हो ।

जस अनुसार निम्न माध्यमिक तहमा ४ हजार ९ र माध्यमिक तहमा ३ हजार ४ सय २३ अस्थायी शिक्षक रहेका छन् । यो तथ्यांकले आयोगले विज्ञापन खुलाउने शिक्षकको संख्या यकिन हुने र बिदा हुने शिक्षक कति हुन्छन् भन्ने यकिन गरेर बजेट व्यवस्थापन गर्न सहज हुने विभागले जनाएको छ ।  अस्थायी शिक्षकलाई अन्तिम एकपटकका लागि रिक्त दरबन्दीमा उम्मेदवार हुन पाउने गरी एक वर्षभित्र छुट्टाछुट्टै विज्ञापन गर्ने व्यवस्था ऐनमा छ । यो व्यवस्थाअनुसार २०७४ असारसम्म अस्थायी शिक्षकको व्यवस्थापन गरिसक्नुपर्ने हुन्छ ।

०४९ पुस २० भन्दाअघि र ०४९ पुस २१ देखि ०६१ साउन २१ सम्म नियुक्ति लिएका शिक्षकले आन्तरिक प्रतिस्पर्धा गर्न सक्छन् । त्यस्तै ०६१ देखि ०६३ को दरबन्दीमा कार्यरतले आन्तरिक र खुला दुवैमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।   सुविधा लिई अवकाश हुन चाहने अस्थायी शिक्षकले स्थायी प्रतिस्पर्धाको दरखास्त दिने अन्तिम दिनअघि नै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । सुविधा नलिई प्रतिस्पर्धामा उत्रने शिक्षक उत्तीर्ण हुन नसके स्वतः अवकाश भएको मानिने व्यवस्था गरिएको छ । प्रतिस्पर्धामा जान नचाहने शिक्षकलाई अधिकतम सेवा अवधि मानेर सुविधा दिने व्यवस्था छ ।

५ देखि १० वर्षसम्म सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको आधा महिना बराबरको तलब, १० देखि १५ वर्षसम्म सेवा गरेकालाई प्रत्येक वर्षको १ महिनाको तलब, १५ वर्षभन्दा बढी सेवा गर्ने शिक्षकले काम गरेको प्रत्येक वर्षको डेढ महिनाको तलब बराबरको रकम पाउने छन् । यसअनुसार ३० वर्ष काम गरे पनि २० वर्षलाई आधार मानेर ३० महिनाको तलब पाउने छन् ।