काठमाडौंः- छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यो पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपालको संविधानको सफल कार्यान्वयन गर्ने दिशामा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेकि छिन् ।

images-cms-image-000000984सूर्य देवता र छठ माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेकि छिन् ।

“धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अवसर जुटाइ राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदान पुर्याएका छन्,” सन्देशमा भनिएको छ ।

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको मौलिक पर्व छठको अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा उनले यो पावन पर्वको माध्यमबाट नेपालीहरूका बीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र बलियो एकता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

पुनले छठको पावन अवसरले संविधान कार्यान्वयनका क्रममा देखिएका असन्तुष्टिहरूलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट सम्बोधन गर्दै निर्धारित समयभित्र विभिन्न तहका निर्वाचन सम्पन्न गरेर संविधानलाई पूर्ण कार्यान्वयन गर्न तथा समृद्ध नेपाल निर्माणको नेपाली जनताको चाहना पूरा गर्न सबै नेपालीलाई एकताबद्ध भएर लाग्न प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सूर्य उपासनाको छठ पर्वले राष्ट्र निर्माणमा एकजुट भएर लाग्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

सन्देशमा प्रधानमन्त्रीले सबै धर्म, संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको स्मरण गराउँदै संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल निर्माणको मार्गमा अग्रसर भएको वर्तमान सरकारलाई साथ दिन सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन् ।

यसै अवसरमा दिएको शुभकामना सन्देशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने पवित्र पर्व छठका अवसरमा सम्पूर्ण तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना प्रकट गरेका छन् ।

सन्देशमा सभापति देउवाले भनेका छन् ुहाम्रा यी सबै चाड–पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर हुन्, यी चाड–पर्वले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन्।