7-pardesh1तुलसीपुर २१ कात्तिक ।  नेपाली काँग्रेस दाङले जिल्लामा १२ वटा सम्म स्थानीय तह बनाउन प्रस्ताव गरेको छ । उसले हाल प्रचलनमा रहेका चार नगरपालिका सहित आठ गाँउ पालिका बनाउन प्रस्ताव गरेको छ ।  विगत तीन दिन देखि स्थानीय तहका वारेमा जिल्लामा छलफल हुँदै आएको भएपनि टुङ्गो भने लागि सकेको छैन ।

स्थानीय तह पुनःसंरचना  प्राविधिक सहयोग समितिले दाङको हकमा १० देखि १३ वटा सम्म स्थानीय निकाय बनाउन सकिने  प्रस्ताव गरेको छ । कार्तिक २० गते सम्म जिल्लामा कतिवटा गाँउ पालिका र नगरपालिका बनाउने भन्ने प्रस्ताव गरिसक्ने केन्द्रले सिफारिस गरेको भएपनि निर्धारित मितिमा दाङले उक्त प्रस्ताव पठाउन सकेको छैन ।

जिल्लामा क्रियासिल प्रमुख दलहरुकै विचमा कतिवटा स्थानीय तह बनाउने भन्ने वारेमा सहमति कायम हुन नसक्दा समस्या भइरहेको नेपाली काँग्रेस दाङका सभापति कीर्तिवहादुर खड्काले बताए । तर, उनले दाङमा चारवटा नगरपालिका र आठ वटा गाँउ पालिका बनाउन प्रस्ताव काँग्रेसले गरेको बताए । उपमहानगर पालिका बनाउने रहर मात्रै गर्नु भन्दा त्यही अनुरुपको भौतिक पूर्वाधार विकास गरिनुपर्ने उनको मत छ । उनले भने ‘ भौतिक पूर्वाधार विकास भने जस्ताको त्यस्तै तर, उपमहानगरपालिका बनाँउ भन्नु करको दायरा मात्रै बढाउनु हो ।

पहिला पूर्वाधार तयार गरौं त्यसपछि उपमहानगरपालिका बनाउँदै जाउँला ।’ नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगीका अनुसार चारवटा नगरपालिका र आठ वटा गाँउ पालिका बनाउनुपर्छ भन्ने सवालमा काँग्रेस दाङ अडिग रहने बताए । उनले क्षेत्रीय कार्यसमिति लगायत काँग्रेस दाङका  अग्रज नेता तथा व्यक्तिको सल्लाहमा जति सक्यो धेरै स्थानीय निकाय बनाउनु पर्छ र जनतालाई घर आँगनमै सेवा दिनुपर्छ भन्ने काँग्रेसको मान्यता रहेको बताए ।

काँग्रेसले बेला र राजपुरलाई मिलाएर एउटा गाँउ पालिका , लालमटिया, सिसनीया र हाँसिपुरका वडा नं. १ र २ नम्वर वडालाई मिलाएर एउटा गाँउ पालिका , गंगा परस्पुर, कोईलावास, गढवा, गोवरडिहालाई मिलाएर एउटा गाँउ पालिका बनाउन प्रस्ताव गरेको छ । त्यस्तै सतवरियालाई समेत लमही नगरपालिकामा मिलाउन प्रस्ताव काँग्रेसले गरेको सचिव डाँगीले बताए ।

त्यस्तै रामपुर र लक्षिणपुरलाई मिलाएर एउटा गाँउपालिका, स्यूजा, कार्भे, लुहारपानी, हाँसीपुरलाई मिलाएर अर्काै गाँउपालिका बनाउन काँग्रेसले प्रस्ताव गरेको छ ।  त्यस्तै घोराही, सौडियार, सैघा, धर्नालाई मिलाएर नगरपालिका बनाउन उसको प्रस्ताव छ । काँग्रेसले त्रिपुुर नगरपालिकाका रुपमा प्रस्ताव गरेको छ । उसले विजौरी, मानपुर, डुरुवा, फूलवारीलाई मिलाएर गाँउपालिका बनाउन प्रस्ताव गरेको काँग्रेस दाङका सचिव डाँगीले जानकारी दिए । काँग्रेसले तुलसीपुर नगरपालिकाको अस्तित्वपनि कायमै राखेको छ । उसले गोलटाकुरी, हेकुली, पवन नगर, शान्ति नगर, श्रीगाँउलाई मिलाएर गाँउपालिका बनाउन प्रस्ताव गरेको छ ।

त्यस्तै पुरन्धारा, पञ्चकुले बागमारे र धनौरी गाविसलाई मिलाएर अर्काै गाँउ पालिका बनाउन उसको प्रस्ताव छ । यद्यपी स्थानीय तह कतिवटा बनाउने भन्ने सवालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विचमा लगभग समान धारणा रहेको पाइन्छ । उनीहरुले आठ वटा सम्म स्थानीय तह बनाउन प्रस्ताव गरेका छन् । उनीहरुको प्रस्ताव अनुसार घोराही र तुलसीपुरलाई उपमहानगरपालिकाको प्रस्ताव गरिएको छ । यद्यपी त्यसमा काँग्रेसले फरक मत राख्दै आएको छ ।