जाजरकोट, २० कात्तिक । नयाँ संविधान अनुसार बन्ने संघीय संरचनामा स्थानीय निकायको संख्यामा सहमति भएपनि सिमांकनको विषयलाई लिएर विभिन्न जिल्लामा मुख्य दलबिच विवाद देखिएको छ । जाजरकोटमा दलहरुबीचकै विवादका  कारण स्थानीय निकायको पुनर्संरचनाका लागि बनेको जिल्ला प्राविधिक सहयोग समितिले निर्धारित मितिमा आयोगमा सिफारिस पठाउन सकेको छैन ।

333सात वटा स्थानीय निकाय बनाउनेमा दलहरु एकमत भएका छन् । दलहरु अन्य स्थानीय निकायको संरचनामा सहमति नजिक पुगेपनि साल्मा गाँउ विकास समितिलाई कता राख्ने भन्ने विषयमा प्रमुख विवाद हुँदा सिमांकनमा सहमति जुट्न नसकेको हो । तिहार लगत्तै स्थानीय प्राविधिक समितिको पहलमा पटक पटक बैठक भएपनि विवाद मिल्न नसक्दा २० कात्तिक भित्र स्थानीय निकाय पुनर्संरचना आयोगमा पठाइ सक्नुपर्ने स्थानीय निकायको संख्या र सिमांकनको प्रस्ताव पठाउन नसकिएको जिल्ला प्राविधिक समितिका संयोजक स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताए ।

उनले शुक्रबार बोलाइएको बैठकमा सहमति जुट्न नसकेको र शनिबार तथा आइतबार बिदा परेकोले सोमबार पुनः सर्वदलीय बैठक बस्ने गरी बैठक स्थगित भएको बताए । सोमबार पनि सहमति नभए जिल्ला प्राविधिक समितिले नै सिमांकन गरेर आयोगमा पठाउने उनले जानकारी दिए । दलहरुबिच साविकका खलंगा, भुर, पुन्मा र जगतिपुर गाविसलाई मिलाएर बनाइएको भेरीमालिका नगरपालिकालाई यथावत राख्ने सहमति भएको छ । त्यस्तै डाँडागाउँ, लहाँ, खगेनकोट, रग्दा र भगवतिलाई मिलाएर नलगाड नगरपालिका बनाउनेमा सबै दल सहमत भएका छन्।

त्यस्तै गर्खाकोट, मजकोट, दह कोर्ताङ्ग गाविसका साथै पजारुको ९ नम्बर वडालाई मिलाएर जुनीचादे गाँउपालिका बनाउनेमा सहमति जुटेको नेपाली कांग्रेसका सभापति दीपक जंग शाहले बताए । त्यसैगरी पैक, ढिमे, अर्छानी, टालेगाँउ गाविसका साथै पजारुको १ र २ नम्बर वडा मिलाएर कुशे गाउँपालिका बनाउनेमा सहमति जुटेको सभापति शाहले जानकारी दिए ।

त्यस्तै नायकवाडा, रोकायगाँउ रामीडाँडा र सक्ला गाविसलाई मिलाएर बारेकोट विशेष संरक्षित क्षेत्रको गाँउपालिका बनाउनेमा पनि सहमति भएको शाहले बताए। कार्कीगाँउ, झाप्रा, पजारु, दशेरा, सुवानाउली र साल्मा गाविस मिलाएर छेडागाड नगरपालिका र सीमा, थालारैकर, जुँगाथापाचौर कचाली गाँउपालिका बनाउनेमा दलहरुबिच विवाद चुलिएको छ ।