काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको मौलिक संवत् नेपाल संवत् ११३७, नयाँ वर्ष शुभारम्भको सुखद उपलक्ष्यमा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले नेपाल संवत्को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताए ।
सन्देशमा भनिएको छ– “आजको २१औँ शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्न र देशको स्वाधीनताको रक्षा गर्न सकिन्छ ।”
नयाँ संविधानमा सबैका भावनाको प्रतिनिधित्व गर्ने प्रयोजनका लागि सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा जुटिरहेकाले संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयन र मुलुकको समृद्धिका लागि यसले महत्वपूर्ण योगदान गर्ने आफूले विश्वास लिएको प्रधानमन्त्रीले बताएका छन् ।
गणतन्त्र स्थापनापछि आफ्नै प्रधानमन्त्रीत्वकालमा नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा घोषणा गर्ने अवसर मिलेको स्मरण गर्दै अहिले नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको काँधमा रहेको सन्देशमा उल्लेख छ ।
अनलाइनखबरबाट
