काठमाडौं, १२ कार्तिक। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई छिमेकी भारत र चीनका राष्ट्र प्रमूख नेपाल आउँदा एक दिन सार्वजनिक बिदा दिँदा राम्रो हुने राजनीतिक दलका नेताहरु लगायत सुरक्षा निकायबाट राय आएपछि मन्त्रिपरिषदले बिदा दिने निर्णय गरेको स्पष्ट पारेका छन् ।

dsc0274-848x478आज शुक्रबार व्यवस्थापिका–संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आएको सयुंक्त विद्यार्थी मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा स्पष्ट पारेका हुन् । भेटमा प्रधानमन्त्रीले भने, ‘भ्रमणको तयारीका लागि राष्ट्रपतिज्यू समेतको सहभागितामा राष्ट्रपति निवासमा बैठक भएको थियो ।

बैठकमा राजनीतिक दलका प्रमूख नेताहरु पनि हुनुहुन्थ्यो । छिमेकीहरु प्रतिको सद्भाव र काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन समेतलाई विचार गरेर एक दिन बिदा दिँदा राम्रो सन्देश जाने राय आएपछि मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो । बिदा दिने प्रस्ताव र निर्णय प्रधानमन्त्री र प्रचण्डकै भएकोझैं गरी प्रचार गरिएको छ, यो बिलकूल गलत र भ्रामक कुरा हो ।’

भेटमा प्रधानमन्त्रीले विद्यार्थीहरुको एकताले आफू प्रभावित भएको भन्दै आफू सबैसँग समान धारणा बनाएर महाअभियोग पारित गराउने पक्षमा रहेको समेत जानकारी दिए । प्रधानमन्त्रीले भने, ‘हरेक काममा तपाईहरुले जुन एकता प्रदर्शन गर्नुभएको छ, यसले राजनीतिक नेताहरुलाई पनि प्रेरणा मिलेको छ । अख्तियारको दुरुपयोग रोक्ने, सुशासन कायम गर्ने जिम्मेवारी पाएको व्यक्तिलाई नै महाअभियोग लगाउनुपर्ने बाध्यता पक्कै राम्रो होइन । तर, यसले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सकारात्मक शिक्षा पक्कै दिन्छ ।’

भेटमा विद्यार्थी नेताहरुले संसदमा पेश भएको महाअभियोग प्रस्ताव सकारात्मक रहेको भन्दै प्रस्ताव पारित गर्न विशेष भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।