paryatak

बर्दिया, ७ कात्तिक ।  बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्षको पछिल्लो तीन महिनामा ४२ प्रतिशत पर्यटक बढेको निकुञ्जको भनाई छ । साउन महिनामा आन्तरिक पर्यटक दुई सय ३६ सार्क राष्ट्रका ९ र अन्य राष्ट्रका ६५ जना गरी ३ सय ९ जनाले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् ।

यसैगरी, भदौ महिनामा आन्तरिक दुई सय ५४, सार्क राष्ट्रका १२ र अन्य राष्ट्रका एकसय ४८ गरी ४ सय १४ जना पर्यटक निकुञ्ज भ्रमणमा गएका थिए । निकुञ्ज प्रशासनका अनुसार असोज महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । असोज महिनामा स्वदेशी पर्यटक तीनसय १९, सार्क राष्ट्रका ४ र अन्य देशका एकसय ७५ जना पर्यटक बर्दिया निकुञ्जमा आएको निकुुञ्जले जनाएको छ ।

यस वर्ष पछिल्लो तीन महिना साउन, भदौ र असोजमा आन्तरिक पर्यटक ८ सय ९, सार्क र अन्य राष्ट्रका ४ सय ३ जना गरी जम्मा एक हजार दुईसय २१ जना पर्यटकले बर्दिया निकुञ्ज भ्रमण गरेका छन् । अघिल्लो वर्ष यसै अवधिमा आन्तरिक पर्यटकका रूपमा ४ सय ३१, सार्क र अन्य राष्ट्रका दुई सय ७९ जना गरी जम्मा ७ सय १० पर्यटक निकुञ्ज अवलोकनका लागि आएका थिए ।

निकुञ्जमा बाघ र गैंडा सजिलै अवलोकन गर्न सकिने नेचर गाइड राम शाहीले बताउनुभयो । यसअघि निकुञ्जमा परिसर मात्र घुमेर फर्कने आन्तरिक पर्यटक अहिले निकुञ्जमा हात्ती सफारी, जंगल सफारीको समेत मज्जा लिने गरेका छन् ।

बर्दिया निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ । निकुञ्जमा पछिल्लो गणनाअनुसार ३५ वटा गैंडा, ८५ वटा बाघ लगायत ४ सय ३८ पक्षि प्रजाति, २५ भन्दा बढी घस्रिने र एकसय २१ भन्दा बढी माछाका प्रजाति छन् ।