2608201608580522082016085135lokmann-600x0-1000x0काठमाडौं, ५ कात्तिक । प्रधामन्त्री भेट्न बालुवाटार पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकमा निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नपाएपछि गेटबाटै फर्किएका छन् । कार्की शुक्रबार बिहान ७ बजे नै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

गेटका कर्मचारीहरुले प्रवेश गर्न नदिएपछि लोकमानले प्रधानमन्त्री भेट्न पाएनन्। प्रधानमन्त्री सचिवालयका अनुसार उनी समय नलिइकनै त्यहाँ पुगेका थिए। सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीलाई भेट्न समय लिनुपर्ने नियम छ। बिना जानकारी र समय नलिई पुग्नेले प्रधानमन्त्री भेट्न पाउँदैनन्।’

संसद् सचिवालयमा लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि बुधवार राति उनले प्रधानमन्त्रीलाई फोन गरेका थिए। आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि लोकमान विभिन्न शक्ति केन्द्रसँग सम्वाद गर्ने प्रयत्नमा छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि फोन सम्वाद गरिसकेका छन्।

नियुक्ति विवादमा सर्वाेच्चले दिएको तामेलीपत्र बुझ्ने क्रममा उनले कानुनी शासनको अवज्ञा गरेकोलगायतका विषय लिएर संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको छ। यो प्रस्ताव आइतवार संसद् बैठकमा पेश गर्ने कार्यसूची संसद् सचिवालयले तय गरिसकेको छ।