काठमाडौं : नेपाली कांग्रेससँगको सल्लाह र सहमतिमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको खुलासा भएको छ ।
प्रस्ताव दर्ता गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच विभिन्न चरणमा छलफल भएर एकप्रकारको सहमति बनेपछि प्रस्ताव अघि बढाइएको स्रोत बताएको छ । एमाले र माओवादीका सांसदहरुले मात्र महाअभियोगमा हस्ताक्षर देखिएपछि कांग्रेसको भूमिका र दृष्टिकोणबारे अनेक आशंका र अनुमान भइरहेका बेला कांग्रेसले आज औपचारिक रुपमा आफ्नो दृष्टिकोण बाहिर ल्याउने भएको छ ।
प्रस्तावमा हस्ताक्षर नभए पनि महाअभियोगलाई पारित गराउन कांग्रेसले सघाउने कांग्रेसका एक वरिष्ठ नेताले बताए । उनले भने, ‘हामीसँगको सल्लाह र छलफलअनुसार दर्ता भएको हो । यसमा कांग्रेसको रोल के हुन्छ भनेर अनावश्यक आशंका र अनुमान गर्नुपर्ने आवश्यकता छैन ।’
पार्टी सभापति देउवाले पनि कांग्रेसका उपलब्ध सांसद तथा नेताहरुलाई यसबारेमा स्पष्ट पारिसकेका छन् । यसबारेमा कांग्रेसका नेताहरुबीच बुधबार बेलुका पनि अनौपचारिक छलफल भएको थियो र बिहीबार बिहान पनि छलफल हुँदैछ ।