दाङ । नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा ५ नं. प्रदेशको एकता भेला घोराहीमा सम्पन्न भएको छ । एकता भेलालाई नेकपा माओवादी केन्द्र ५ नं. प्रदेशका ईञ्चार्ज एवं पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अन्नत’ले सम्बोधन गर्नुभएको थियो ।

1-116एकता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले संविधान कार्यान्वयनका लागि थुप्रै समस्याहरु खडा भएको बताउँदै त्यसलाई चिर्न दलित समुदायले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले पार्टी र मोर्चाका संगठनहरुलाई गाउँ गाउँमा बिस्तार गर्न र नेताहरुलाई पार्टीको एकताको सन्देश लिएर गाउँ–गाउँमा पुग्न आग्रह गर्नुभयो ।

भेलालाई नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य कुलप्रसाद केसी ‘सोनाम’, जगप्रसाद शर्मा ‘अपार’लगायतले प्रशिक्षण दिनुभएको थियो ।
मुक्तिमोर्चाका ५ नं. प्रदेश इन्चार्ज चन्द्रबहादुर विकको अध्यक्षतामा भएको एकता भेलाले समिति एकता गर्न बाँकी रहेका जिल्लाहरुमा तत्काल एकता भेला गर्न र भेला गरिसकेको जिल्लाहरुमा सम्मेलन गर्न सम्बन्धित समितिलाई निर्देशन दिएको छ ।

त्यस्तै, प्रदेशभरि एक लाख दलितलाई संगठित सदस्यता वितरण गर्ने, आरन सुधार कार्यक्रम अघि बढाउने, त्यसका लागि देशभरिका आरन व्यवसायीहरुको छिट्टै भेला गर्ने निर्णय गरिएको मुक्तिमोर्चाका प्रदेश इन्चार्ज चन्द्रबहादुर विकले जानकारी दिनुभयो ।

त्यस्तै, प्रदेशभित्र हालै भएका जातीय छुवाछूत भेदभावसम्बन्धी घटनाहरुको सत्य तथ्य छानविन गरी आवश्यक कार्बाहीका लागि सम्बन्धित निकायलाई दबाब दिने निर्णय पनि गरिएको विकले बताउनुभयो । कार्यक्रमको सञ्चालन मोर्चाका केन्द्रिय कार्यालय सदस्य खड्कबहादुर सुनारले गर्नुभएको थियो ।