aryaकाठमाडौँ, ३ कात्तिक । तीनदिने अन्तर्राष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन बिहीबार सुरु हुँदैछ । कात्तिक ४ गतेदेखि काठमाडौँ, टुँडिखेलमा हुने उक्त कार्यक्रममा करिब दुई दर्जन देशका आठ हजार प्रतिनिधिहरू सहभागी हुने नेपाल आर्य समाजका अध्यक्ष कमलाकान्त आत्रेयले जानकारी दिनुभयो ।

महासम्मेलनमा महिला सम्मेलन, युवा सम्मेलन, शिक्षा सम्मेलन, संस्कृति सम्मेलन, साहित्य सम्मेलनलगायत कार्यक्रममा आयोजना हुनेछ । ‘वेदले कसरी महिला सशक्तीकरण गरेको छ, युवालाई देश र समाज सेवा गर्ने कसरी उत्प्रेरणा जगाएको छ’ भन्ने कुरा सम्मेलनमा मूल उद्देश्य रहेको अध्यक्ष आत्रेयले बताउनुभयो ।

समाजले जारी गरेको विज्ञप्तिमा ‘महासम्मेलनबाट वैदिक संस्कृतिको यथार्थ स्वरूपको प्रस्तुति, युवावर्गमा चरित्र र सदाचारका भावको अभिवृद्धि, समाजको भौतिक र आत्मिक उन्नतिको सम्भावनाहरूको खोजी आदिका माध्यमले समाजले नयाँ दिशानिर्देश प्राप्त गर्ने अपेक्षा छ,’ उल्लेख छ ।