यांगुन, २ कात्तिक । मध्य म्यानमारमा शनिबार दिउँसो भएको एक डुंगा दुर्घटनामा ३० व्यक्तिको मृत्यु भएको बिबिसीले जनाएको छ । सो डुंगा दुर्घटनामा अझै दर्जनौँ मानिस हराइरहेका छन् । सो डुंगा म्यानमारको मोनिवा सहरबाट ७२ किमि उत्तरमा पर्ने जलक्षेत्रमा दुर्घटना भएको हो । डुंगामा विद्यार्थी, शिक्षक तथा कामदार थिए । सुरक्षाकर्मीले एक सय ४५ व्यक्तिको उद्धार गरेका छन् ।
कम्तीमा दुई सय ५० सवार
उद्धारकर्मीका अनुसार डुंगामा कम्तीमा दुई सय ५० व्यक्ति सवार भएका थिए । डुंगामा प्रायःजसो विश्वविद्यालयका ७०–८० जना विद्यार्थी, ३० शिक्षक, केही चिकित्सक तथा सयभन्दा बढी कामदार सवार हुन्थे । म्यानमारमा सुरक्षाकर्मी तथा क्षमताभन्दा बढी यात्रु चढाउनाले प्रत्येक वर्ष डुंगा दुर्घटना हुने गर्छ ।
डुंगाको क्षमता एक सय २० मात्र
दुर्घटनामा परेको डुंगाको क्षमता एक सय २० व्यक्तिको मात्र हो । तर, जलक्षेत्रको बीचबाटोमा केही व्यक्ति चढ्ने हुनाले डुंगामा क्षमताभन्दा बढी व्यक्ति सवार हुन्छन् । ‘सधैँ क्षमताभन्दा बढी मानिस सवार हुन्छन्,’ सुरक्षा निकायका अधिकारी येन योङले भने, ‘जसका कारण यात्रुहरू सधैँ असुरक्षित हुन्छन् ।’ यता दुर्घटनाबाट बाँच्न सफल एक यात्रुले डुंगामा बढी यात्रु भएको बताए ।
नयाँ पत्रिकाबाट